दाङ – लमहीमा जारी सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत समूह बी को पहिलो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ५९ रनको फराकिलो अन्तरले हराउँदै सानदार विजयी सुरुवात गरेको छ । जितको लागि १ सय ८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले २० ओभरमा ६ विकेट गुमाउँदै ४८ रन बनाए । गण्डकीका कुनैपनि ब्याटरले दोस्रो अंकमा रन बनाउन सकेनन् ।
तीव्र गतिकी बलर कविता कुवँरले तेस्रो ओभरको पाँचौ बलमा ओपनर सृजना पौडललाई शून्यमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएकी थिइन् । छैटौं ओभरको पहिलो बलमा पुर्णता शाहीलाई सुनिता लुहरले २ रनमा बोल्ड आउट गर्दै दबाब बढाएकी थिइन् ।
लुहरलेनै सृष्टि पौडेललाई ८ रनमा लक्ष्मी साउँदबाट क्याच आउट गराइन् । १२ औं ओभरको तेस्रो बलमा कप्तान शीला रेग्मी क्षेत्रीलाई ऋतु कनोजियाले ४ रनमा बोल्ड आउट गरेपछि गण्डकीको जितको सम्भावना टाढिएको थियो । एलिसा लामिछाने र सीमा केसी ४–४ रनमा आउट भइन् । ज्योत्स्निका मरासैनी ६ र कुसुम गोदर ५ रनमा अविजित रहिन् । सुदूरपश्चिमको जितमा सुनिता लुहरले ३ ओभरमा ९ रन खर्चेर २ विकेट लिइन् । लक्ष्मी साउद, ऋतु कनोजिया र कविता कुवँरले १–१ विकेट लिइन् ।
प्रतिक्रिया