देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नन्कोभिड बिरामीहरुको संरक्षणका लागि कोभिड प्रोटेक्सन चार्ज : नर्भिक

देशान्तर

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले विभिन्न संचारमाध्यममा नर्भिक अस्पतालको नाम जोडेर आएका ‘कोभिड सुरक्षा शुल्क (कोभिड प्रोटेक्सन चार्जेज)’ सम्बन्धी समाचारहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कोभिड र नन्कोभिडका लागि छुट्टाछुट्टै भवनमा आफ्नो स्तरीय सेवा संचालन गर्दै आएको र अस्पतालमा रहेका नन्कोभिड बिरामीलाई संक्रमणबाट पूर्ण रुपमा सुरक्षित राख्न सकियोस् भन्नेमा हामी सजग रहेको नर्भिकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘यस्ता, नन्कोभिड बिरामी राखिएको अस्पताल भवनलाई डब्ल्यूएचओले तोकेको, अन्तराष्ट्रिय अभ्यासमा ल्याइएको उच्चस्तरीय वैज्ञानिक प्रविधि र सामाग्रीहरु प्रयोग गरेर सम्पूर्ण अस्पताल भवनलाई जोखिमरहित बनाउने हाम्रो प्रयास रहिआएको छ । त्यसका लागि अन्तराष्ट्रिय गाइडलाइनअनुसार अस्पतालको ठाउँ–ठाउँमा ह्याण्ड स्यानिटाइजेसनको उपलब्धता, प्रत्येक भिजिटरहरुलाई निःशुल्क मास्क डिस्पोजेबल मास्क वितरण, डिस्पोजेबल शू कभर आदिको प्रयोग गर्न लगाउने, ह्यूमन टच प्वाइन्ट (मानिसहरुले बढीभन्दा बढी छुनसक्ने ठाउँ)लाई वैज्ञानिक प्रविधिद्वारा हरसमय संक्रमणरहित तुल्याउने तथा प्रत्येक सेवाकर्मीहरुलाई संक्रमणबाट सुरक्षित राख्न र उनीहरुबाट बिरामीलाई संक्रमण हुन नदिन विभिन्न खालका प्रोटेक्टिभ गियर्सहरुको प्रयोग गरिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यी सबै प्रयासहरुका लागि ठूलो धनराशि खर्च हुने गर्छ, जसको व्यवस्थापन वर्तमान शुल्कबाट समेत असंभव छ । अहिलेको जटिल परिस्थितिमा विकल्पविहीन भएका हामीले बाध्य भएर कोभिड प्रोटेक्सन चार्ज लिइरहेका हौं । यो हाम्रो रहर नभई बाध्यताको रुपमा बुझिदिन अनुरोध गर्छौ ।’

कोभिड संक्रमणको शंका भएका डाक्टर, नर्सिङ स्टाफ र अन्य सेवाकर्मीहरुलाई तत्काल आइसोलेसनमा राख्नुपर्ने व्यवस्था मिलाएका छौं, जसले गर्दा बिरामीहरुलाई कुनै पनि प्रकारको संक्रमण नसरोस् भन्ने सुनिश्चितताका लागि दोहोरो, तेहेरो अतिरिक्त जनशक्ति प्रयोगमा ल्याउनुपर्ने जटिल अवस्था सिर्जना भएको पनि नर्भिकले जनाएको छ । कोभिडको संक्रमण काठमाण्डौमा समुदायस्तरमा फैलिएको बेलामा पनि हामी नर्भिक नन्कोभिड अस्पतालभित्र भएका बिरामीहरूलाई संक्रमणमुक्त राख्न सफल भएका छौं र, यसको एक मात्र प्रमुख कारण, हामीले अपनाएका सुुरक्षा अवधारणा र उपायहरु नै हुन् । त्यसकारण यो शुल्कलाई बिरामीहरुको संरक्षणका लागि प्रयोग गरिएको भनी बुझिदिनुहुन अनुरोध गर्दछौं विज्ञप्तिमा भनिएको छ ।

नर्भिक क्रिटिकल केयरका लागि सबैभन्दा विश्वसनीय थलो हो भन्ने कुरा आम समुदायको बुझाई छ र हाम्रो विशेषज्ञता भन्नु नै क्रिटिकल केयर म्यानेजमेन्ट हो, यसमा हामीलाई गर्व छ । क्रिटिकल बिरामीहरूमा संक्रमण झनै चाँडो हुने संभावना रहन्छ । र, हाम्रा बिरामीहरुलाई संक्रमणमुक्त राख्ने काम अहिलेको बेलामा हाम्रा लागि ठूलो चुनौति बनेको जनाइएको छ । ‘हामीले अहिलेसम्म त्यो चुनौतिलाई सामान गर्दै आइरहेकै छौं । हाम्रो यो दृढ संकल्प र प्रयासले यहाँ भर्ना हुने बिरामीहरुलाई संक्रमणमुक्त राख्न सकिएको छ । यो कार्यमा हामीले सबै मिडियाकर्मी, आम जनसमुदायको सद्भावको अपेक्षा गरेका छौं । जसले गर्दा हामीलाई क्रिटिकल बिरामीहरुलाई सही ढंगले सेवा गर्न उर्जा प्राप्त होस्’, विज्ञप्तिमा उल्लेख छ ।