देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

७ सय कैदीलाई कोरोना संक्रमण, आठको मृत्यु

देशान्तर

काठमाडौँ । देशका विभिन्न कारागारमा रहेका ७०० बढी कैदीबन्दीलाई कोभिड–१९ सङ्क्रमण भएको कारागार व्यवस्थापन विभागले जनाएको छ । सङ्क्रमितमध्ये अहिलेसम्म ८ जनाको मृत्यु भएको विभागका सूचना अधिकारी देवर्शी सापकोटाले जानकारी दिए ।

त्यसमध्ये सबैभन्दा बढी केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका ६ सङ्क्रमितको मृत्यु भएको जनाइएको छ । बाँके र मोरङ्मा एकरएक जनाको निधन भएको सापकोटाले बताए ।

प्राप्त विवरणअनुसार अहिलेसम्म विभिन्न कारागार कार्यालयका एक हजार ९०० बढीको पिसिआर परीक्षण भएको थियो । त्यसमध्ये ७०० पोजिटिभ भएको र झण्डै २०० उपचारपछि निको भएको जनाइएको छ ।

विभागले ज्वरो, खोकी आएका र सम्भावित लक्षण देखिएकाको परीक्षण गर्ने गरेको छ । सङ्क्रमण फैलिन नदिन स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरी उच्च सावधानी अपनाइएको र बाहिरको भेटघाटलाई समेत बन्द गरिएको छ । आफन्तले ल्याएको खानेकुरासमेत प्रवेश निषेध गरिएको सूचना अधिकारी सापकोटाले बताए ।

शङ्कास्पद व्यक्तिलाई क्वारेन्टिनमा राखेर उपचार गर्ने गरिएको छ । विभागका अनुसार पर्सा, बाँके, स्याङ्जा, ललितपुर, सिन्धुपाल्चोक, काठमाडौँ, पाँचथर, जुम्ला, सप्तरी, सिराहा, सुनसरी, मोरङलगायत कारागारमा कोरोना देखिएको छ ।