पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मंगलबार पहिलो पल्ट युरोपेली च्याम्पियन्स लिगको फाइनल यात्रा तय गरेको छ ।
यसका लागि उसले अर्जेन्टिनी खेलाडी एन्जेल डि मारियाको उत्कृष्ट प्रदर्शनमा आरबी लाइपगिजलाई सजिलै ३–० ले हरायो । पहिलो हाफमा पीएसजीले २–० को अग्रता लिएको थियो ।
त्यसमा मारक्विन्हो र डि मारियाले गोल गरे । दोस्रो हाफमा जुवान बर्नाटले तेस्रो गोल गरे र पीएसजीले इस्टाडियो डा लुइजमा आरामदायी जित निकाल्यो । सन् १९७० मा स्थापित पीएएजीले यस पल्ट आफ्नो ५०औं स्थापना दिवस मनाइरहेको छ र यसै अवसरमा फाइनल पुग्न पनि सफल रहेको छ ।
अब उपाधि भिडन्तका लागि उसले बुधबार बायर्न म्युनिक र लियोनबीच दोस्रो सेमिफाइनल विजेतासँग खेल्नेछ । निकै खर्चालु पीएसजी लाइपजिगलाई बलियो प्रतिद्वन्द्वी सावित भयो । लाइपजिग पनि ११ वर्ष अगाडि मात्र स्थापित क्लब हो र उसले सेमिफाइनलसम्म सनसनीपूर्ण यात्रा तय गरेको थियो । यसक्रममा उसले टोटनहम र एटलेटिको म्याड्रिडलाई पन्छाएको थियो ।
प्रतिक्रिया