रियल मड्रिड आफ्नो अन्तिम खेलमा लेगानेससँग बराबरीमा रोकिएको छ । यो बराबरीपछि पनि लेगानेस रेलिगेसनमा परेको छ ।
गएराति भएको खेलमा रियल लेगानेससँग दुई दुई गोलको बराबरीमा रोकियो । अर्को खेलमा सेल्टा भिगोले स्पानोयलसँग गोलरहित बराबरी खेलेपछि लेगानेस रेलिगेट भएको हो । रियलले दुई पटकको अग्रतालाई जोगाउन सकेन ।
खेलको नवौं मिनेटमा नै सर्जियो रामोसले गोल गर्दै रियललाई अग्रता दिलाए । उनको जारी सिजनमा १२ औं गोल हो । तर पहिलो हाफको इन्जुरी समयमा गिलले लेगानेसलाई बराबरीमा पुर्याए ।
पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पनि दुबै टिमले एक एक गोल थपे । ५२ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई फेरि अग्रता दिलाए । तर ७८ औं मिनेटमा एसालेले गोल गरेपछि खेल दुई दुईका अवस्थामा पुग्यो ।
तर त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र रियलले बराबरीमा चित्त बुझायो । यो बराबरीपछि लेगानेस सेल्टा भिगो भन्दा एक अंकले पछि पर्दै रेलिगेट भयो ।
जारी सिजनबाट दोस्रो डिभिजनमा झर्ने क्लवमा लेगानेस, मर्लोका र स्पानोयल भएका छन । रियल ८७ अंकका साथ शीर्ष स्थानमा रह्यो भने बार्सिलोना दोस्रो, एट्लेटिको मड्रिड तेस्रो तथा सेभिया चौथो स्थानमा रहन सफल भए ।
अर्को खेलमा एट्लेटिको मड्रिडले रियल सोसिडाडसँग गोलरहित बराबरी खेल्यो भने सेभियोले भ्यालेन्सियालाई एक शून्यले पराजित गर्याे ।
प्रतिक्रिया