देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काेराेना कहर : सवा दुई लाख युवा नेपाल फर्किने सरकारी आंकलन

देशान्तर

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा गठित कोरोना व्यवस्थापन समितिले कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण हालसम्म सवा दुई लाख नेपाली कामदार स्वदेश पर्काउने अवस्था उत्पन्न भएको बताएको छ । समितिका संयोजक रहेका वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बुधबारसम्म २ लाख १८ हजार नेपालीलाई घर फर्काउने अवस्था आंकलन गरिएको बताए । खाडीका ६ मुलुक र मलेसियामा गरी करिब २१ लाख नेपाली रहेको अनुमान गरिएको पनि महानिर्देशक दाहालले जानकारी दिए ।

वैदेशिक रोजगार पत्रकार समाजले बुधबार गरेको अन्तरक्रिया कार्यक्रममा महानिर्देशक दाहालले उनीहरुलाई स्वदेश फर्काउन भन्दा पनि नेपाल आइसकेपछि उनीहरुलाई क्वारेन्टाइनमा राखी परिवारमा पुनर्मिलन गराउने काम सबैभन्दा पेचिलो रहेको भन्दै उनीहरुलाई नेपाल ल्याइने भएपनि तत्काल फर्काउने निर्णय नगरिएको बताए ।

नेपाल सरकारले विश्वका १ सय ८ देशमा रोजगारीमा जान नेपाली नागरिकहरुलाई खुला गरेको छ । त्यसमध्ये विभागले संस्थागत रुपमा जाने १ सय ४ मुलुक र व्यक्तिगत रुपमा १ सय ७६ मुलुकमा जाने कामदारका लागि श्रम स्वीकृति दिने गरेको  छ । त्यसमध्ये हाल यूएई, बहराइन, साउदी अरब र कुवेतमा रोजगारीमा गएका नेपाली कामदार कारोना भाइरसबाट बढी प्रभावित भएको आफुहरुको अध्ययनले देखाएको भन्दै महानिर्देशक दाहालले स्थिति अनुकुल हुनासाथ विदेशमा रहेका नेपाली कामदारहरुलाई स्वदेश फर्काउने बताए ।

विदेशमा रहेका नेपालीहरुको अवस्थाका बारेमा नेपाली नियोगहरु, गैर आवासीय नेपाली संघ सस्था र स्वयं कामदारहरुबाट जानकारी लिइरहेको जानकारी दिँदै महानिर्देशक दाहालले साउदी अरबबाट ३० जना कामदारहरुले देखाएको खाने बस्ने समस्याबाहेक हालसम्म अन्य देशबाट गम्भीर समस्या जानकारीमा नआएको बताए ।

तत्काल उद्धार गरिहाल्नुपर्ने, जहाँ छन् त्यहीँ सुरक्षित राख्ने र रोजगारी गुमाउने कामदारलाई सोही देशमा रोजगारी खोजेर व्यवस्थापन गर्ने जस्ता प्रक्रिया अपनाएर विदेशमा रहेका नेपालीका  समस्याहरुलाई वर्गिकरण गरिएको भन्दै महानिर्देशक दाहालले नेपालबाट श्रम स्वीकृति लिएर गएका तर लकडाउनका कारण कम्पनीमा पुग्न नसकेका कामदारहरुको संख्या २० हजारको हाराहारीमा रहेको पाइएको जानकारी दिए ।

कोरोनाका कारण समस्यामा परी रोजगारी गुमाएर घर फर्किने कामदारहरुले पहिले जस्तो क्षतिपूर्तिको माग गर्दै विभागमा उजुरी दिन नपाउने बताउँदै महानिर्देशक दाहालले कामदारहरुलाई फर्काउदा स्वास्थ्य परीक्षणका अतिरिक्त घर फर्किने ईच्छापत्र जस्तो स्वीकृतिपत्रमा हस्ताक्षर गराउने कार्यविधि बनाउने गृहकार्य भइरहेको जानकारी दिए । तर कोरोना संक्रमणको महामारी फैलिनु अघि पाउनुपर्ने तलव लगायतका सुविधा नपाएको देखिएमा भने उजुरी लिई कानून अनुसार छानवीन गरिने महानिर्देशक दाहालले जानकारी दिए ।