देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकामा कोरोना संक्रमणबाट १५ नेपालीले ज्यान गुमाए

देशान्तर

वासिङ्टन डिसी । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दैआउनुभएका महेश पन्थी रहेका छन् ।

बिरामी भएर गत चैत २६ गते उनी अस्पतालमा भर्ना भएका थिए । उनीसमेत गरी अमेरिकामा मृत्यु हुने नेपालीको संख्या १५ पुगेको छ । तीमध्ये न्यूयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जना रहेका छन् ।

मेरिल्याण्ड राज्यका विधायक ह्यारी भण्डारीले दिएको जानकारीअनुसार १५ जनामध्ये सबैलाई कोरोना सङ्क्रमित भनेर पुष्टि गर्ने मजबुत आधार त छैन, तर कोरोना सङ्क्रमणका कारण मनोवैज्ञानिक त्रासले केही नेपालीको हृदयघातका कारणले पनि मृत्यु भएको देखिन्छ । ‘अरु रोग लागेका व्यक्तिमा कोरोनाको सङ्क्रमणले छिटो आक्रमण गर्ने र मानिसको रोगप्रतिरोधी क्षमता कमजोर गराइ मृत्यु नजिक पुर्‍याउने गरेको देखिन्छ,’उनले भने ।

यसैबीच एक महिना अगाडि मृत्यु भएका विष्णुकुमार राईको शवको अन्तिम संस्कार गर्न सफल भएको भण्डारीले जानकारी दिए । अमेरिकामा निधन भएका नेपालीको शवलाई अन्तिम संस्कार गर्नका लागि परिवारका सदस्यसँगको समन्वयमा शवदाहगृहसम्म पु¥याउने काममा भण्डारीले महत्वपूर्ण सहयोग गर्दै आएका छन् ।

एनआरएन ग्लोबल हेल्थ कमिटीका संयोजक डा सञ्जीव सापकोटाले अमेरिका, बेलायत, युएई, टर्की, आयरल्याण्ड, नेदरल्याण्ड, जापानमा गरी ५४ नेपालीको मृत्यु भएको राससलाई जानकारी दिए । एनआरएनएले आफ्नो संयन्त्र परिचालन गरी वैशाख १३ सम्म सङ्कलन गरेको तथ्याङ्कमा विभिन्न २५ देशमा रहेका दुई हजार ३२ नेपालीमा कोरोनाको सङ्क्रमण देखिएको छ ।

तीमध्ये ४३४ जनाले आफूलाई कोरोना भाइरस सङ्क्रमणबाट मुक्त गराउन सफल भएको छ । सङ्ख्याका आधारमा सबैभन्दा बढी अमेरिकामा एक हजार सङ्क्रमित भएको र अहिलेसम्म मृत्यु हुनेमा सबैभन्दा बढी बेलायतमा ३३ जना रहेको तथ्याङ्क छ । –रासस