देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लकडाउनमा थप कडाई, पासबिना चलेका ८ सय सवारी नियन्त्रणमा

देशान्तर

काठमाडौं । कोरोना भाइरस रोकथामका लागि लागू गरिएको लकडाउनलाई आजदेखि थप कडा पारिएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार ७७ वटै जिल्लामा लकडाउन थप कडा पारिएको हो ।

यसअघि हिजो गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै पासविनाका कुनै पनि सवारी साधन आवतजावतमा रोक लगाउन निर्देशन दिएको थियो । सोहीअनुसार लकडाउन कडा बनाइएको छ । प्रहरीले सडका हिँडेका र गुडेका सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गर्न थालेको छ ।

यसैबीच लकडाउन उल्लंघन गर्ने आठ सय १४ सवारीसाधनलाई प्रहरीले काठमाडौं उपत्यकाबाट नियन्त्रणमा लिएको छ। आज साढे ११ बजेसम्म ८ सय १४ सवारीसाधनलाई नियन्त्रणमा लिइसकेको ट्राफिक प्रहरी प्रवक्ता एसपी जीवन श्रेष्ठले जानकारी दिए । उनका अनुसार ८१४ मध्ये दुई पाङ्ग्रे सवारीसाधन ७२१ छन् भने ९३ चार पाङ्ग्रे सवारीसाधन छन् ।

आजदेखि १० दिनका लागि लकडाउन लम्बिएसँगै काठमाडौंबाहिर जान खोज्नेको संख्या पनि बढेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले उपत्यका बाहिर जान खोज्ने करिब तीन सय जनालाई होल्डमा राखेको छ । त्यस्तै अनावश्यक रूपमा हिँडडुल गर्ने ११ सय जनालाई समेत नियन्त्रणमा लिएको छ ।