देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेकपाका दुई सांसद र पूर्वआईजीपी खनालविरुद्धकाे उजुरी लिन प्रहरीले मानेन

देशान्तर

काठमाडौं । प्रहरीले पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल तथा सत्तारुढ दल नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठविरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा जाहेरी लिन अस्वीकार गरेको छ ।

आफ्ना सांसद सुरेन्द्र यादव गरेको भन्दै जाहेरी दर्ता गर्न महानगरीय प्रहरी परिसर टेकु पुगेको समाजवादी पार्टीका नेताहरु पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोसहितको टोली दर्ता नभएपछि फर्किएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले मुद्दा दर्ता गर्न नसकिने भन्दै ‘जहाँ जानु छ जानुस्’ भन्दै जाहेरी लिन अस्वीकार गरेका थिए । ज्ञवाली आइतबार मात्रै महानगरीय प्रहरी परिसर काठमाडौंको नेतृत्व सम्हाल्न पुगेका थिए ।

केही अनुसन्धान गर्नुपर्ने र घटना महोत्तरीमा भएकाले दर्ता नभएको परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए । पूर्वप्रहरी महानिरीक्षक खनालसहित दुई सांसदले पार्टीको आग्रहमा समाजवादी पार्टी फुटाउनका सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई निवासबाटै अपहरण गरेर काठमाडौँ ल्याएको आरोप लगाउँदै आएको छ ।

यस्तोमा प्रहरीले उजुरी लिन नमानेपछि पूर्वप्रधानमन्त्री समेत रहेका जसपाका नेता बाबुराम भट्टराईले आक्रोश पोखेका छन् । उनले ट्वीटरमार्फत् आक्रोश पोखेका हुन् ।

नेता भट्टराईले लेखेका छन्- ‘यत्रो देशविदेश तरंगित गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित ब्यक्तिले महानगरीय प्रहरी परिसर काठमाण्डौमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने ?’