देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गाउँपालिका अध्यक्षको नेतृत्वमा पदाधिकारी–कर्मचारीको जम्बो टोली विदेश भ्रमणमा, काम नहुँदा सेवाग्राही निराश

देशान्तर

बीरगञ्ज । ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा बोकेको नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संघीय सरकारले गरेका नीतिगत भ्रष्टाचारमा चुर्लम डुबेको छ । त्यसैको सिको गर्दै स्थानीय सरकारहरु पनि निर्वाध रुपमा भ्रष्टाचार र अनियमितताको बाटोमा विना रोकटोक अघि बढीरहेको पाइएको छ ।

प्रसङ हो प्रदेश नं. २ अन्तर्गत रहेको पर्सा जिल्लाको उत्तर पश्चिम भागमा अवस्थित पटेर्वा सुगौली गाउँपालिकाको । यतिबेला गाउँपालिका र त्यस अन्तर्गतका वडा कार्यालयहरु सुनसान छन् । काम लिएर गएका सेवाग्राही गाउँपालिका र आफ्ना सम्बन्धीत वडा कार्यालयहरुको ढोकामा पुगेर निराश भएर फर्किन बाध्य छन् । कार्यालय रुगेर बसेका तल्ला तहका कर्मचारीहरु गाउँपालिका अध्यक्ष, पदाधिकारीहरु हुनुहुन्न पछि आउनु भन्दै सेवाग्राहीलाइ फर्किन आदेश दिइरहेको पाइन्छ । तल्ला कर्मचारीहरु पनि शितलहरमा आगो तापेर दिन काटिरहेका छन् ।

सिंगै गाउँपालिकामा एकैसाथ यस्तो सुनसान किन भयो ? यसको कारण हो गाउँपालिका अध्यक्ष, एकदेखि ५ नं. सम्मका वडा अध्यक्ष, सदस्य, प्रशासकिय अधिकृत, इन्जिनियरलगायतका पदाधिकारीदेखि कर्मचारीसम्म १५ जनाको टोली एकैसाथ विदेश भ्रमणमा निस्कनु ।

गाउँपालिका अध्यक्ष हुन् हरिनारायण चौधरी । तत्कालिन एमालेका कार्यकर्ता चौधरीले आफ्नो नेतृत्वमा वडा नं. १ देखि ५ सम्मका वडा अध्यक्ष, वडा सदस्य, प्रशासकिय अधिकृत, इन्जिनियर गरी १५ जनाको जम्बो टोली यतिबेला थाइल्याण्ड, मलेसिया, कम्बोडिया र सिंगापुरको भ्रमणमा छन् ।

भम्रण टोलीमा चौधरीका अलावा गाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत भुजेन्द्रप्रसाद यादव, वडा नं. १ का अध्यक्ष फरमान मिया अन्सारी, २ नं. वडाका अध्यक्ष विजय गैरे, वडा नं. ३ का अध्यक्ष माधव राउत थारु, ४ नं. वडाका अध्यक्ष राजेश्वर महतो थारु, वडा नं. ५ का वडा अध्यक्ष मोतिलाल साह, गाउँपालिका सदस्य विपिन मुखिया, अर्का सदस्य दीपक कुमार रसाइली, गाउँपालिकाको योजना, प्रशासन, शिक्षा स्टोर शाखाका अधिकृत शम्भुप्रसाद साह, सिभिल इन्जिनियर प्रदीप चौरसिया, उर्जा तथा वातावरण अधिकृत निर्मलकुमार सिंह, लेखापाल वीरेन्द्रप्रसाद साह, प्रशासन तथा योजना शाखाका नासु राजकुमार महतो र खरिदार वीरेन्द्रप्रसाद चौधरी छन् ।

भ्रमण टोलीमा एकजना पनि महिला सदस्य छैनन् । अध्यक्ष चौधरीले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष ममता महतोलाई दिएका छन् । उपाध्यक्ष महतोले के उद्देश्यलिएर अध्यक्ष जम्बो टोलीसहित विदेश भ्रमणमा निस्किएको हो आफूलाई जानकारी नभएको बताइन् ।

पुस २ गते भ्रमणमा निस्किएको उक्त टोली एक साताभन्दा बढी समय व्यतित गरेर पुस ११ गते मात्रै फर्किने कार्यक्रम रहेको बताइएको छ । स्रोतका अनुसार भ्रमणका लागि प्रतिव्यक्ति २ लाख ५० हजार रुपैयाँ खर्च गरिएको छ । यस हिसावले भ्रमणको कुल खर्च ३७ लाख ५० हजार हुन आउँछ । कुन स्रोतबाट उक्त रकम खर्च गरिएको हो उपाध्यक्ष महतोलाई जानकारी छैन । स्रोतका अनुसार गाउँपालिकाले भ्रमण शीर्षकमा १० लाख रुपैयाँ विनियोजन गरेपनि त्यसमा अर्थ मन्त्रालयले अंकुश लगाइसकेको छ ।

गादीखोलाको बालुवा, गिट्टी, ढुंगाको ठेक्काको कमिसन वापत प्राप्त रकमले अध्यक्ष कर्मचारीसहित विदेश सयरमा निस्किएको गाउँपालिका स्रोतको दाबी छ । ‘केही दिनअघि मात्रै उक्त खोलाको ठेक्का छिनोफानो भएको हो । अध्यक्षदेखि इन्जिनियरसम्मका कर्मचारी मात्रै होइन लेखापालसम्म भ्रमणमा जानुले सोही ठेक्काको कमिसनले काम गरेको छ’, स्रोतले भन्यो । यसबारे गाउँपालिका उपाध्यक्ष महतोसँग बुझ्न खोज्दा उनले आफूलाई भम्रणको अर्थिक स्रोतबारे जानकारी नभएको बताउँदै यसमा पत्रकारहरु आफैले खोजि गरुन् भन्ने जवाफ दिइन् ।