पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको वर्तमान सरकारले विपक्षी पार्टीलगायत अन्यलाई थिचोमिचो गरेको बताए । पार्टीले शुरु गरेको राष्ट्रिय जागरण अभियानको शुभारम्भमा मंगलबार पोखरामा नेता पौडेलले पक्षपातपूर्ण ढङ्गले आफ्ना कार्यकर्तालाई पोस्ने गरी बजेट विनियोजन गरिएको र दुई तिहाइ मतसहितको सरकारले मतको सदुपयोग गरेर जनतामा उत्साह ल्याउन नसकेको उल्लेख गरे ।
कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा पार्टीले उठाएको उम्मेदवारलाई भोट हाल्न कार्यकर्तालाई निर्देशन दिँदै उनले कांग्रस हुँ भन्नेले रूखमा भोट दिए जीत सुनिश्चित हुने बताए। पार्टीका केन्द्रीय प्रतिनिधि धुव्र वाग्लेले पार्टीमा नैतिकवान् र पारदर्शी नेताको खाँचो रहेको औँल्याउँदै केन्द्रमा बस्ने नेता नबदलिएसम्म पार्टी बलियो नहुने उल्लेख गरे।
सो अवसरमा वरिष्ठ नेता पौडेलले वृक्षरोपण गरे। कांग्रेसको दोस्रो चरणको जनजागरण अभियान असोज ७ गतेसम्म जारी रहनेछ।
प्रतिक्रिया