काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरी शुक्रबार मध्यान्ह स्वदेश फर्किएका छन्।
उनका प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालले सिङ्गापुरबाट थाइल्याण्ड हुँदै मध्यान्ह थाई एयरवेजबाट प्रधानमन्त्री ओली स्वदेश फर्किएको बताए । प्रधानमन्त्रीलाई स्वागत गर्न रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसहितका सरकारका उच्च पदस्थ अधिकारी विमानस्थलमा पुगेका थिए।
यो पटक पनि ओलीले विमानस्थलको भीआईपी कक्षमा पत्रकारहरुसँग कुरा गरेनन्। ओलीले बोल्ने अपेक्षासहित धेरै पत्रकारहरु विमानस्थल पुगेका थिए। तर हात हल्लाउँदै विमानस्थलबाट निस्किएका ओली पत्रकारसँग बोल्दै नबोली सरकारी निवास बालुवाटारतर्फ लागे। मिर्गौलासम्बन्धी एण्टिबडीको उपचारका लागि उनी गत भदौ ५ गते त्यसतर्फ गएका थिए। उनको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो। प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत सहभागी थिए।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा। दिव्यासिंह शाह यसअघि नै फर्किसकेका छन्। यसअघि उनी त्यही अस्पतालमा स्वास्थ्य परीक्षण गरी साउन २७ गते स्वदेश फर्किएका थिए।
प्रतिक्रिया