प्रधानमन्त्री केपी शर्मा ओली उपचारको बिषयलाई लिएर संसदमा सत्तापक्ष र प्रतिपक्ष सांसदबीच जुहारी चलेको छ । आज प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे संसदमा जानकारी किन गराइएन भन्दै प्रश्न उठाउनुभयो । सत्तारूढ नेकपामा प्रधानमन्त्री हुन इच्छा राख्ने र पहिला पनि प्रधानमन्त्री भइसकेका नेता भएको उल्लेख गर्दै उहाँले बिरामी भएका प्रधानमन्त्रीलाई पार्टीले विश्राम दिनुपर्ने बताउनुभयो ।
सांसद थापाले विगतमा आफ्नो पार्टीले पनि यस्ता गल्ती गरेकाले नेकपालाई पनि फेरी यस्तो गल्ती नदोहो¥याउन अनुरोध गर्नुभयो । उहाँले प्रधानमन्त्रीलाई नेकपाले विश्राम गर्न दिनुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्रीको मनको इच्छाशक्तिको आफू प्रशंसक भएको पनि बताउनुभयो । थापाले बोलेलगत्तै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद सूर्यप्रसाद पाठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे धेरै चिन्ता नलिन आग्रह गर्नुभयो ।
थापाले बिरामी प्रधानमन्त्रीलाई विश्राम दिनुपर्ने बताएपछि आज संसदमा जवाफ फर्काउँदै पाठकले केही माननीयले प्रधानमन्त्रीले राजीनामा दिए हुन्थ्यो भन्ने आशय प्रकट गरेको बताउनुभयो । उहाँले प्रधानमन्त्रीको स्वास्थ्यभित्र आफ्नो दलको अस्तित्व नखोज्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गर्नुभयो । त्यसपछि नेकपा सांसद सूर्यप्रसाद पाठकलाई जवाफ फर्काउँदै कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडूले प्रतिपक्षी दलका सांसदले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दा सत्तापक्ष किन झस्किनु परेको भनेर प्रश्न गर्नुभयो ।
उहाँले प्रधानमन्त्री सत्तापक्षको मात्र नभएर प्रतिपक्ष र देशको भएको पनि बताउनुभयो । दुई तिहाइ समर्थनप्राप्त सरकार भ्रष्टाचारमा नयाँ कीर्तिमान कायम राख्न खोजेझैं गरी अघि बढिराखेको भन्दै उहाँले सरकारको पनि आलोचना गर्नुभयो । प्रधानमन्त्री पर्सी शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ ।
प्रतिक्रिया