लामो समयसम्म देशभर स्थानीय तहमा जनप्रतिनिधि रिक्त रह्यो । झण्डै दुई दशकपछि स्थानीय तहमा जनप्रतिनिधिमा जितेर आएका राजनीतिक दलका नेता अधिकांश सुविधा भोगी देखिएका छन् । जनप्रतिनिधि स्थानीय तहमा आएपछि उनीहरुको पहिलो प्राथमिकता भनेकै सवारीसाधन उपयोगमा भएको छ । दाङ जिल्लामा मात्रै पनि करिब रु २३ देखि ६० लाखसम्मका सवारीसाधन जनप्रतिनिधिले प्रयोग गर्दै आएका छन् ।
ऐन कानुनमा स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले सवारीसाधनको सुविधा पाउने उल्लेख छ । सोही कानुनलाई टेकेर चर्को मूल्यका सवारीसाधन उनीहरुले किनिरहेका छन् । स्थानीय तहमा प्रमुखदेखि वडाध्यक्षसम्मले सरकारी सवारीसाधन प्रयोग गरेको पाइन्छ । केही वडाध्यक्षहरूले सवारी प्रयोग नगरे पनि अधिकांशले प्रयोग गरेका छन् । तुलसीपुर उपमहानगरमा जनप्रतिनिधि आएपछि २० वटा मोटरसाइकल तथा नगर प्रमुख र प्रशासकीय अधिकृतका लागि महँगो मूल्यको गाडी खरीद गरिएको छ ।
उपमहानगरपालिकाले एउटा मारुती कार, एउटा टाटा जीप, एउटा १५० सिसीको मोटरसाइकल र १२५ सिसीको मोटरसाइकल २० वटा खरीद गरेको उपमहानगरका सूचना अधिकारी झरेन्द्र खरेलले बताए । नगर प्रमुख धनश्याम पाण्डेको सवारी करिब ५२ लाखको हो । त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत रु ३९ लाख १९ हजार ४६९ को मारुती कारमा चढ्छन् ।
त्यस्तै, १९ वटा वडा कार्यालय र एक जनस्वास्थ्य महाशाखासहित २० वटा मोटरसाइकल रु ४१ लाख १४ हजार ३७९ मा खरीद गरिएको सूचना अधिकारी खरेलले जानकारी दिए । तुलसीपुरका ६, ९ र १८ वडा नम्बरले नगरले किनेको मोटरसाइकल प्रयोग गरेका छ्रैनन् । त्यस्तै, बबई गाउँपालिकामा पनि जनप्रतिनिधि र कर्मचारीको लागि मोटरसाइकल र गाडी खरीद गरिएको छ । गाउँपालिका प्रमुखका लागि रु ५० लाखको स्कार्पियो, उपप्रमुखका लागि स्कुटर र वडाध्यक्ष र अन्य शाखाका लागि १३ वटा विभिन्न कम्पनीका मोटरसाइकल किनिएको छ । पालिकाले प्रतिमोटरसाइकल रु दुई लाख ३८ हजार खर्च गरेको पालिका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर मल्लले बताए ।
साविकको गाविस हुने बेलाका दुई वटा मोटरसाइकलबाहेक अन्य १५० सिसीका पल्सर भएको उनले जानकारी दिए । सवारी मोहको बारेमा जिज्ञासा राख्दा बबईका अध्यक्ष भुवनेश्वर पौडेलले कामको सिलसिलामा आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले सवारीका साधन खरीद गर्नुपरेको बताए । उनले आर्थिक वर्ष ०७४÷७५ मा १० वटा मोटरसाइकल किनेको र अघिल्लो आवमा तीन वटा खरीद गरिएको बताए ।
शान्तिनगरका प्रमुख कमानसिंह डाँगी पनि रु ५० लाखको गाडीमा चढ्छन् । उपाध्यक्ष मिथिला शाहले भने पल्सर बाइक चढ्दै आएका छन् । पालिकाका प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसीका अनुसार वडाध्यक्षहरूका लागि प्रतिमोटरसाइकल करीब रु दुई लाख ५० हजार मूल्यका सात वटा बाइक पनि पालिकाले खरीद गरेको छ । पालिकाले उपलब्ध गराएको मोटरसाइकल भने वडा नम्बर ७ का अध्यक्षले फिर्ता गरेका छन् ।
घोराहीका नगरपालिकाका प्रमुख नरुलाल चौधरी चढ्ने गाडीको बजार मूल्य रु ६१ लाख हो । उपप्रमुख सीता सिग्देल न्यौपानेले प्रयोग गरेको जीपको मूल्य रु ३५ लाख छ भने प्रमुख प्रशासकीय अधिकृत ऋषिराज केसीले रु ४० लाखको गाडी प्रयोग गर्दै आएका छन् ।
घोराहीका वडा नम्बर ४, १०, १३, १४, १५, १७ ले सरकारी सवारीसाधन प्रयोग गरेका छैनन् । अन्य १३ वटा वडाध्यक्षहरूले नगरले किनेको मोटरसाइकल प्रयोग गरिरहेको प्रमुख प्रशासकीय अधिकृत केसीले बताए । उनका अनुसारप्रति मोटरसाइकल रु एक लाख ६८ हजार मूल्यका १६ वटा खरीद गर्दा रु २६ लाख ८८ हजार नगरले खर्च गरेको छ ।
त्यसैगरी, बङ्गालाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले रु साढे २३ लाख मूल्यको गाडी प्रयोग गर्दै आएका छन् । उपाध्यक्ष यमुना घर्तीका लागि रु दुई लाख २५ हजार बराबरको मोटरसाइकल खरीद गरिएको छ । पालिकाले आठ वटा वडाध्यक्षहरूलाई प्रतिमोटरसाइकल रु दुई लाख ५० हजार मूल्य बराबरको १५० सिसीको पल्सर मोटरसाइकल खरीद गरेको गाउँपालिकाका सूचना अधिकारी गोपाल केसीले जानकारी दिए ।
त्यसैगरी, दंगीशरण गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले रु ६० लाख बराबरको स्र्कापियो एउटै गाडी प्रयोग गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले जानकारी दिए । साथै ७ वडाका वडाध्यक्षलाई १५० सिसीको रु दुई लाख ४० हजार बराबरको मोटरसाइकल खरीद गरेको उनले बताए ।
प्रतिक्रिया