काठमाडौं । सार्क मुलुक बाहेकका विदेशमा बस्ने नेपालीहरुद्वारा स्थापित गैर आवासिय नेपाली संघ (एनआरएनए)को विश्व सम्मेलन आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा हुँदैछ । विशुद्ध सामाजिक संस्थाको रुपमा स्थापित एनआरएनएको नेतृत्वमा पुग्न आकांक्षीहरु होडवाजीमा छन् । एनआरएनएको चुनावमा उम्मेदवारहरुले नतिजा आफ्नो पक्षमा पार्न करोडौं रुपैयाँ खर्च गर्ने गरेकोभन्दै एनआरएनहरुबीच नै टिकाटिप्पणी हुने गरेको छ । र, बेला बेलामा एनआरएनए अभियानमा लागेकाहरुमाथि व्यक्तिगत स्वार्थपूर्तिका लागि संस्थाको दुरुपयोग गर्ने गरेको आरोप पनि लाग्दै आएको छ । यही क्रममा गैर आवसिय नेपाली संघ क्यानडाका अध्यक्ष र महासचिवको कालो कर्तुतको खुलासा भएको छ ।
गैर आवासिय नेपाली सघ क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्ले र महासचिव चिरञ्जिवी घिमिरेले मोटो रकम लिई संस्थाको लेटरप्याड मानव तस्करहरुलाई बेच्ने गरेको खुलासा भएको हो । अध्यक्ष काफ्ले र महासचिव घिमिरेले मोटो रकम लिई मानव तस्करले भनेको व्यक्तिको नाममा संस्थाको लेटरप्याडमा एनआरएनए क्यानडाको कार्यक्रममा सहभागिताको निम्तो पठाउने गरेको विशेष सूत्रले देशान्तरलाई बतायो ।
बागलुङ घर भएका एक नेपालीले एनआरएनए क्यानडाको कार्यक्रमको निम्तोमा क्यानडा जाने गरी दलाललाई ३५ लाख बुझाएको नाम उल्लेख नगर्ने शर्तमा देशान्तरलाई बताए । केही दिन अघि भारतको नयाँ दिल्ली पुगेर भिषा प्रक्रिया पूरा गरेर फर्केका उनले आफ्नै अगाडि दलालले काफ्ले र घिमिरेसँग फोनको लाउड स्पिकर मोडमा कुरा गर्दै स्पोन्सरसहितको निम्ता मगाएको र उनीहरुले भिषा लाग्ने ग्यारेन्टी गरेपछि दलाललाई ३५ लाख रुपैयाँ बुझाउन आफू राजि भएको देशान्तरलाई बताए । स्पोन्सर निम्ताको लागि दलाल र काफ्ले–घिमिरेबीच ५ हजार क्यानेडियन डलर दिने/लिने सहमति भएको उनले बताए । आफ्नो जस्तै अन्यको पनि स्पोन्सर लेटर एनआरएनए क्यानडाबाट दलालले मगाउने गरेको र त्यसमा काफ्ले र घिमिरेको हस्ताक्षर हुने गरेको स्रोतले बतायो ।
समाचारविरुद्ध एनआरएनए क्यानडाका अध्यक्ष र महासचिवको संयुक्त खण्डन पत्र
देशान्तर न्युज डट कमको तर्फबाट प्रधान सम्पादकको जवाफ
सर्वप्रथम त देशान्तर न्युज डट कमले प्रस्तुत समाचार कसैमाथि पूर्वाग्रही भएर विना प्रमाण र आधार प्रकाशित गरेको होइन भन्ने स्पष्ट पार्न चाहन्छौं । हामीले प्रकाशन गरेको समाचारका कारण कोही पनि निर्दोष व्यक्ति वा संस्थाको चरित्र हत्या नहोस भन्नेमा हामी सदैव सचेत रहने गरेका छौं । यदी भुल वश त्यस्तो हुन गएमा हामीले सम्बन्धीत व्यक्तिको खण्डन प्रकाशित गर्ने मात्र होइन क्षमा समेत माग्दै आएका छौं । त्यसैले प्रस्तुत समाचारले पनि कोही निर्दोष व्यक्ति वा संस्थाको चरित्र हत्या भएको रहेछ भने हामी क्षमा माग्न सदैव तत्पर छौं ।
तर, प्रस्तुत समाचारबारे हामी केही विषयहरु स्पष्ट गर्न चाहन्छौ । प्रस्तुत समाचारमा उल्लेखित तथ्यहरुबारे केही स्रोतले केही प्रमाणहरु हामीलाई देखाएपछि हामीले यो समाचार प्रकाशित गर्ने निधो गरेका हौं । र, उक्त स्रोत व्यक्तिले हामीलाई प्रमाणस्वरुप दिएको उएनआरएनए क्यानडाको खाली लेटरहेडको फोटोकपि, जसमा उक्त संस्थाका वर्तमान अध्यक्ष एवं महासचिवको हस्ताक्षर रहेको छ, त्यो हामीसँग अहिले पनि सुरक्षित छ । त्यसमा रहेको हस्ताक्षर माथि खण्डनपत्रमा रहेको अध्यक्ष र महासचिवको हस्ताक्षरसँग मिल्दोजुल्दो छ । समाचारमा उल्लेखित तथ्यहरुको जानकारी दिने स्रोत व्यक्तिले आफूलाई लेटरहेड दिएवापत क्यानडाको अध्यक्ष र महासचिवलाई बुझाउनुपर्ने भन्दै रकम मागेको र आफूले दलाललाई सो रकम बुझाएको तथ्य नाम उल्लेख नगर्ने शर्तमा हामीलाई बताएपछि हामी यो समाचार प्रकाशित गर्ने निधोमा पुगेको स्पष्ट गर्दछौं । बाग्लुङ घर भएका उक्त व्यक्ति हाल क्यानडा पुगिसकेको पनि जानकारी गराउँदछौ । तर उक्त व्यक्तिको नाम र ठेगाना सार्वजनिक नगर्न हामी शर्तले बाँधिएका छौं ।
– प्रधान सम्पादक
प्रतिक्रिया