देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

छठपछि इन्धनको मूल्य बढाउने तयारी

देशान्तर

काठमाडौं । नेपाल आयल निगमले छठपछि फेरी इन्धनको मूल्य बढाउने भएको छ । तत्कालै मुल्य बढाउन लागेको निगमलाई सरकारले तिहार र छठ पर्वसम्म अन्तर्राष्ट्रिय मूल्यका आधारमा इन्धनको मूल्य तत्काल समायोजन नगर्न निर्देशन दिएपछि इन्धनको मुल्य छठपछि मात्रै बढ्ने भएको हो ।

 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चाडवाडलाई ध्यान दिँदै अन्तर्राष्ट्रिय बजार अनुसार तत्काल मूल्य समायोजन नगर्ने निर्णय गरेपछि निगमा चाडपछि मात्रै मुल्य बढाउने भएको हो । मन्त्रालयका प्रवक्ता नवराज ढकालले प्रधानमन्त्री केपी ओली र विभागीय मन्त्री मात्रिका यादवलगायतको निर्देशनमा चाडपर्वमा उपभोक्तालाई राहत दिन मूल्य समायोजन स्थगित गरिएको जानकारी दिएका छन ।

 

चाडपर्व सकिएपछि स्वचालित मूल्य प्रणालीअनुसार प्रत्येक १५–१५ दिनमा पुनः मूल्य समायोजन गर्ने प्रक्रिया सुरु हुने प्रवक्ता ढकालले बताएका छन । आयल निगमले इन्धनको कारोबार गर्दा पछिल्लो एक महिनामा दुई अर्ब आठ करोड घाटा व्यहोरेको जनाएको छ ।

 

निगमका अनुसार १५ दिनमा मात्रै एक अर्ब चार करोड घाटा भएको छ । निगमका कायममुकायम उपप्रबन्धक नागेन्द्र साहका अनुसार अन्तर्राराष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि, डलरको मूल्य वृद्धि र स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा नआउँदा घाटा बढेको छ ।

 

ढकालका अनुसार अहिले पेट्रोलतर्फ प्रतिलिटर ८ रुपैयाँ ५० पैसा, डिजेलतर्फ नौं रुपैयाँ ३२ पैसा र खाना पकाउने ग्यासतर्फ प्रति सिलिण्डर चार सय चार रुपैयाँ ७३ पैसा घाटा भइरहेको छ ।

 

मट्टितेलतर्फ भने प्रति लिटरमा १७ रुपैयाँ ८२ पैसा नाफा छ । अमेरिकी डलरको विनियमदर एक रुपैयाँ प्रतिडलरले वृद्धि हुँदा निगमलाई महिनामा करिब १८ करोडभन्दा बढीको अतिरित्त आर्थिक भार थपिएको बताइएको छ ।