देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वर्तमान काँग्रेसको जीवनमा वीपी

देशान्तर

देशको झण्डै सात दशक लामो प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेको ऐतिहासिक प्रजातान्त्रिक दल नेपाली काँग्रेस आज इतिहास कै सबै भन्दा कमजोर स्थितिमा उभिएको छ । आफ्नै नेतृत्वमा (कथित लोकतान्त्रिक) प्रजातान्त्रिक आन्दोलन, संविधान निर्माण र पछिल्लो तीनै तहको निर्वाचन सम्पन्न गरेर पनि निर्वाचनमा नराम्रोसंग पछारिएको काँग्रेस राजनीतिको पहिलो शक्ति हुनबाट विमूख हुन पुगेको छ, सत्ताको रिङ्गबाट बाहिरिएको छ ।

देशको गौरवाशाली प्रजातान्त्रिक एवम राष्ट्रवादी शक्ति नेपाली काँगे्रसको वैचारिक दिशाहिनता र यसको कमजोर संगठन र हुतिहारा नेतृत्वको परिणामले इतिहास मै पहिलो पटक निर्वाचनका माध्यमबाट देशको शासन सत्ता स्पष्ट बहुमतका साथ (मधेश केन्द्रित दलहरूको समर्थनमा दुई तिहाई बहुमत प्राप्त) कम्युनिष्ट पार्टीको हातमा पुगेको छ ।

देशको दुर्भाग्य, दुई तिहाई बहुमत प्राप्त ओली नेतृत्वको वर्तमान सरकार ६ महिनाको अवधिमा देशको शासन सम्हाल्न असफल भएको छ । सरकार दुई तिहाई बहुमतको दम्भमा संसदीय प्रजातन्त्रको मर्म, कानूनी शासन, स्वतन्त्र मेडिया लगायतका प्रजातान्त्रिक मूल्य र मान्यता विपरित सम्वृद्धि र सुशासनको खोक्रो नारा दिंदै अधिनायकवादी शैलीमा दिग्भ्रमित ढङ्गले अगाडि बढिरहेको छ । प्रधानमन्त्री पदको अघिल्लो इनिङ्गमा भारतीय नाकावन्दीको डटेर विरोध गर्दै लोकप्रिय बनेका ओलीको कथित राष्ट्रवाद र विचारहिन एवम कमजोर नेतृत्वका कारणले काँग्रेस कमजोर बन्न पुगेको धरातमा ओली लोकप्रिय प्रधानमन्त्री त भए तर उनको अक्षमताको कारणबाट यति छिटै ओली सरकारको नेतृत्व गर्न असफल बनेका छन् । यसबाट देशमा थप राजनीतिक अन्योलता, अनिश्चितता र द्वन्द्व सिर्जना हुन सक्ने संभावना टड्कारो रूपमा देखिंदैछ । देशको यस्तै चिन्ताजनक राजनीतिक स्थितिमा हामी राजनेता वीपी कोइरालाको १०५ औं जन्म–जयन्तीका अवसरमा उहाँलाई सम्मानपूर्वक स्मरण गरिरहेका छौं ।

युगद्रष्टा वीपी कोइरालाको निधनको ३६ वर्ष पछि आजको देशको चुनौतिपूर्ण राजनीतिक अवस्थामा वीपीका विचार र चिन्तनलाई स्मरण गरिरहँदा भन्नु पर्दछ वीपीको विचार–चिन्तन र नेपाली राजनीतिका लागि उहाँले देखाउनु भएको बाटोमा सिङ्गो देश र काँग्रेस नहिडेको कारणले नै देश आजको दुर्भाग्यपूर्ण अवस्थामा आइपुगेको छ भने काँग्रेस आँफै देशको राजनीतिको मूलप्रवाहबाट वाहिर बस्न विवश भएको छ ।

आज देश वीपीले कल्पना गरेको राजनीतिक विचार र सिद्धान्तको बाटोमा विल्कुलै छैन । स्वयम् वीपी समेत सँस्थापक रहेको र उहाँले लामो समयसम्म नेतृत्व गरेको नेपाली काँग्रेस आँफै वीपीको विचार र सिद्धान्तको मार्गमा छैन ।

दूरदर्शी राजनेता वीपी कोईरालाले आफ्नो जीवनको अन्तिम दिनहरूमा देशको राजनीतिक भविष्य प्रति जे जस्तो विश्लेषण, अनुमान र भविष्यवाणी गर्नु भएको थियो त्यो आज सत्य सावित भैरहेको छ । वीपीले भन्नु भएको थियो– ‘विदेशी आई हामीलाई ठुला–ठुला सद्भाव देखाउलान्, केही गर्लान् त्यसमा हामी अल्मलिन थाल्छौं, त्यसो गर्नु हुँदैन ।’ वीपीले भने जस्तै विगतको कथित लोकतान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया र संविधान निर्माणको चरणमा विदेशी दाताको लगानी र सौजन्यता कति थियो ? छिमेकी एवम मित्र राष्ट्रहरूको प्रभाव, दवाव, हस्तक्षेप आदि कति थियो ? हामी सहजै बुझ्न सक्छौं ।

देशमा संविधानसभाबाट संविधान जारी भै तीनै तहको निर्वाचन सम्पन्न भए पछि देश साँच्चि कै सम्वृद्धिको बाटोमा अग्रसर हुनेछ भनेर ठुला राजनीतिक दलहरूले सत्ताको स्वार्थमा जनतामा निकै भ्रम छर्ने काम गरे । जनतालाई ठुलो भ्रममा राखेर जनताको मतको पर्वाह राखी लहैलहैमाबलजफ्तसंग देशलाई संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता आदि लाद्ने काम भयो । तर यी सबै हुँदैमा रातारात देश प्रगतिको बाटोमा जाने त होइन रहेछ । मूल कुरा राजनीतिक दल तीनका नेताको सोच र नियत भन्ने कुरा पनि त्यति कै महत्वपूर्ण कुरा हो, त्यसैको कारण यी सबै भएर पनि देशमा राजनीतिक अनिश्चितता, अन्योलतासंगै लामो राजनीतिक संक्रमणको अन्त्य हुने संभावना देखिएको छैन ।

जननेता वीपी कोइरालाले नेपालको राष्ट्रियताको प्रवद्धन र प्रजातन्त्रको सुदृढिकरण संगै देशलाई प्रगतिको मार्गमा लैजानका लागि देशका सामु राख्नु भएको राजनीतिक प्रस्तावलाई राजसंस्थाले अस्वीकार गरेकै परिणाम एक दिन देशबाट राजसंस्थाले दुःखदायी पतन व्यहोर्नु पर्यो । आफ्नो संस्थापक नेता एवम महान विचारक वीपीको राजनीतिक सोच, विचार र सिद्धान्तलाई परित्याग गरी सत्ता स्वार्थ र अरूको रणनीति खेलमा फसेर कम्युनिष्टहरूको मुद्धालाई काँधमा बोकेर हिडेको परिणामले नै अहिले नेपाली काँग्रेस इतिहास कै सबै भन्दा कठिन मोडमा उभिन वाध्य भएको छ ।

महान समाजवादी चिन्तक वीपी कोइरालाले त्यसै वेला भन्नु भएको थियो – ‘म मरे पछि नेपाली काँगे्रसमा मेरो भूमिकाको वारेमा व्यापक भ्रम सिर्जना गर्ने प्रयास हुनेछ भन्ने मलाई पक्का छ । घटनाहरूलाई बङ्ग्याएर इतिहासको गलत व्याख्या गरिने छ । नेपाली काँग्रेसमा मैले लिएको राजनीतिक अडान र मेरो दृष्टिकोणलाई गौण बनाइने छ । मैले नेपाली काँगे्रसमा सदैव सैद्धान्तिक र विषयगत अडान लिएको छु । राष्ट्रियताको विषयमा, प्रजातान्त्रिक संस्थाहरूको विषयमा, आर्थिक विकास र समाजवादी व्यवस्थाको विषयमा मेरा अडानका निरन्तरता छन् ।’ वीपीको संका यथार्थमा परिणत भयो । वीपीलाई स्वयम काँग्रेसले चिन्न सकेन, उहाँका उत्तराधिकारी र अनुयायीहरूले चिन्न सकेन्, बुझ्न सकेनन्, वीपी कोइरालाले भन्नु भएको जस्तो विचार र चिन्तनमा काँग्रेसको निरन्तरता टुट्यो । त्यसैको परिणाम आज नेपाली काँग्रेस अहिलेको दुःखदायी अवस्था भोग्दैछ ।

वीपी कोइरालाको उपरोक्त मार्मिक एवम् दूरदर्शी विचार माथि वर्तमान कागे्रसको तुलना एवम् विश्लेषण गरेर हेर्ने हो भने वीपीको दुरदर्शिता र वर्तमान काँगे्रसको दशा र दिशाहिनतालाई राम्रैसंग चित्रण गर्दछ । निश्चयः नै वीपीले भन्नु भए जस्तै आज स्वयम काँग्रेसबाट नै वीपी माथि व्यापक भ्रम सिर्जना गरिएको छ, वीपीको विचार र दर्शनलाई काँग्रेस कै नेताहरूबाट आ–आफ्नो राजनीतिक स्वार्थमा अपव्याख्या गरिएको छ, वीपीलाई अपमानित गरिएको छ ।

अतिवादी राजाको निरंकुश कदम विरूद्ध अर्को अतिवादी शक्तिहरूसंग मिलेर क्रान्ति गर्ने नाममा हाम्रा नेताको राजनीतिक कुण्ठा, मुलुकको प्रथम राष्ट्रपति बन्ने उत्कट अभिलाषा र सन्तान मोह प्रभावी भएर नेपाली काँग्रेसको (फाउण्डिङ्ग प्रिन्सिपल) स्थापनाकालिन मौलिक नीति र सिद्धान्त र देशको राजनीति र पार्टीका विषयमा वीपी कोइरालाको राजनीतिक सोच, विचार र सिद्धान्तमा नेपाली काँगे्रसले पटक पटक सम्झौता गर्न पुगेको छ । त्यस कारणले आज काँग्रेसको चारतारे झण्डामा वीपी कोइरालाको तस्वीर धुमिल हुन पुगेको छ । काग्रेसको चुनावी घोषणा पत्र र राजनीतिक दस्तावेजहरूमा वीपीको विचार र चिन्तनको सुगन्ध आउन छोडेको छ ।

वीपीले भन्नु भएको थियो – ‘जुन दिन नेपाली काँग्रेसले राष्ट्रियताको आफ्नो अडान छोड्ने छ यो निरर्थक भएर जानेछ । जुन दिन यसले प्रजातन्त्रको आदर्श छोडेर केवल सत्ताको राजनीति गर्नेछ, यो निरर्थक भएर जानेछ ।’ वीपीले ३५ वर्ष अगाडि चिन्ता गरेको जस्तै अवस्थामा आज नेपाली काँग्रेस पुगेको छ । सिद्धान्त र आदर्शहरूलाई ख्याल नगरी केवल सत्ता केन्द्रीत राजनीति गर्दा आज नेपाली काँग्रेसको राष्ट्रियतासंगको नाता कमजोर हुन पुगेको छ, प्रजातन्त्रको आदर्शको स्तम्भ हल्लिन पुगेको छ ।

महान साहित्यकार समेत रहनु भएका वीपी कोइरालाले आफ्नो जीवनकालमा नै आफ्नो कुरा स्वयम पार्टीका सार्थीहरूले बुझिदिएनन् भनेर वरोवर गुनासो गर्नु भएको थियो भने, उहाँको जीवन पछि काँग्रेसले उहाँको विचारलाई कति पछ्यायो होला हामी सहजै अनुमान गर्न सक्दछौं । वीपीको निधनको लगतै देखिनै अलिअलि काँग्रेसले वीपीलाई उपेक्षा गर्न थालेका हुन् । ०४६ सालमा भएको जनआन्दोलन वीपीको राजनीतिक विचार विपरित थियो भने माओवादीसंग गरेको १२ बुँदे समझदारी र त्यसमा टेकेर गरेको ०६२/०६३ जनआन्दोलन र शान्ति प्रक्रियाका क्रममा त काँग्रेसले वीपीको तस्वीरलाई अफिसमा झुण्डयाउने, वीपी जन्म जयन्ती , स्मृति दिवस आदिमा भजन गाउने, कार्यक्रमहरूमा केही थुङ्गा फुल चढाउने कार्य वाहेक विचार र सिद्धान्तका दृष्टिले अहिलेको नेपाली वीपीको कोइरालाको विचार वा वीपीवादको मार्गबाट हिंडेको छैन । माओवादीसंग गरिएको १२ बुँदे समझदारी पछि अहिलेको वीपीवादबाट नभै जीपीवादको मार्गमा हिडिरहेको छ ।

१२ बुँदे समझदारी, ०६२/०६३ को आन्दोलन, सरकार माओवादी बीच भएको वृहत शान्ति सम्झौता र तत्कालिन सात दल र माओवादी र सरकार र माओवादी बीच विभिन्न चरणमा भएका राजनीतिक सहमतिहरू, संविधानसभा निर्वाचन, संविधानको निर्माण, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता यी सबै जीपीवादका उपज हुन् । यहाँ वीपी कोइरालाको विचार चिन्तनको कुनै स्थान छैन ।

०१७ पुष १ को निरंकुश कदम पछि कठोर ८ वर्ष कारावास र त्यस पछिको अर्को ८ वर्षको कष्टकर भारत निर्वासन समेत १६ वर्षको राजनीतिक योग र तपस्याले वीपीले एक प्रकारले राजनीतिक रूपमा बुद्धत्व वा सिद्धि प्राप्त गरेका थिए । त्यसै परिणाम हो वीपीले नेपाली राजनीतिलाई एउटा बाटो देखाए । राष्ट्रियता, प्रजातन्त्र र देश विकासको लागि एउटा मार्ग कोरे । अझै पनि त्यो मार्गबाट काँग्रेस सहित राजनीतिक दल हिड्ने हो भने राष्ट्रियता बलियो हुन्छ, प्रजातन्त्र वलियो हुन्छ, जनता वलियो हुन्छ, देशको अर्थतन्त्र बलियो हुन्छ, समग्रमा भन्दा देश बलियो हुन्छ । यति गरे काँग्रेस त यसै बलियो हुन्छ । तर काँग्रेसको दुर्भाग्य, केवल सत्ता र लाभको राजनीतिको दाउपेचमा रूमलिएको काँग्रेस नेतृत्व यो सबै बुझ्न तयार छैन ।

कमजोर एवम् रूमलिएको वैचारिक धरातल, गुटगत राजनीति र कमजोर नेतृत्वको परिणामबाट रूग्ण काँग्रेसलाई नयाँ जीवन दिनको लागि आउँदै गरेको महासमिति बैठकमा पार्टीले विधान संशोधन लगायत कुरा गरिरहँदा देश संघीयतामा गएको कारणले तदनुरूप विधान संशोधनका विषयमा मात्र ध्यान दिएर पुग्दैन । शान्ति प्रक्रिया र प्रजातान्त्रिक आन्दोलनका क्रममा हामी कहाँ चुक्यौ, राजनीतिक सिद्धान्त र दर्शनमा कहाँ कहाँ सम्झौता ग¥यौं ? त्यसको गहिरोसंग समीक्षा गर्दै वीपीको विचार र चिन्तन माथि रिभिजिट गर्दै काँग्रेसलाई विचार, सिद्धान्त र आदर्शको हिसावले सहि मार्गमा ल्याउन जरूरी छ । यति गर्न सके, काँग्रेसको जीवनमा वीपी जीवन्त रहनेछन्, देशको राष्ट्रियता संगै प्रजातन्त्र वलियो हुनेछ, काँग्रेस पनि बाँच्नेछ, वीपी कोइराला प्रति उनका अनुयायीहरूले सही न्याय गरेको ठहरिने छ ।
– जय नेपाल !