देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बैंकहरूले दिए २१ खर्ब ऋण, ४ बैंकको लगानी खर्बमाथि

देशान्तर

काठमाडौं । वाणिज्य बैंकहरूले आर्थिक वर्ष ०७४/७५ को अन्त्यसम्ममा २१ खर्ब ११ अर्ब रुपैयाँ लगानी गरेका छन् । २८ वाणिज्य बैंकहरूले अघिल्लो वर्षको तुलनामा ३ खर्ब ७६ अर्ब रुपैयाँ अर्थात् २१.६७ प्रतिशत बढी लगानी गरेका हुन् । नेपाल बैंकर एसोसिएसनका कार्यकारी निर्देशक अनिल शर्माका अनुसार आर्थिक वर्ष ०७३/७४ को अन्त्यसम्ममा वाणिज्य बैंकहरूले १७ खर्ब ३५ अर्ब रुपैयाँ लगानी गरेका थिए । वाणिज्य बैंकहरूले गत असार महिनाको पहिलो सातासम्म २० खर्ब ६९ अर्ब रुपैयाँ लगानी गरेका थिए ।

दोस्रो सातासम्म आइपुग्दा बैंकहरूको लगानी शून्य दशमलव १७ प्रतिशतले वृद्धि भएर २० खर्ब ७७ अर्ब रुपैयाँ पुगेको थियो । यसैगरी असारको तेस्रो सातामा बैंकहरूको लगानी २० खर्ब ८० अर्ब रुपैयाँ पुगेको थियो भने चौथो सातासम्म २० खर्ब ८६ अर्ब लगानी पुगेको थियो । आर्थिक वर्षको अन्त्यसम्ममा भने वाणिज्य बैंकहरूको लगानी बढेर २१ खर्ब ११ अर्ब रुपैयाँ पुगेको एसोसिएसनका कार्यकारी निर्देशक शर्माले बताए ।

गत वर्षको कर्जा लगानीका आधारमा एनआईसी एसिया बैंक पहिलो नम्बरमा देखिएको छ । यस बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ खर्ब २१ अर्ब ३५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । कर्जा लगानीकै आधारमा राष्ट्रिय वाणिज्य बैंक दोस्रो नम्बरमा देखिएको छ । उसले १ खर्ब २० अर्ब ८७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । तेस्रो नम्बरमा रहेको नेपाल इन्भेस्टमेन्ट बैंकले १ खर्ब २० अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरी तेस्रो भएको छ । सोही अवधिमा नबिल बैंकले १ खर्ब १२ अर्ब ६५ करोड रुपैयाँ लगानी गरेको छ ।

गत वर्ष १ खर्ब बढी लगानी गर्नेमा एनआईसी एसिया, राष्ट्रिय वाणिज्य, नेपाल इन्भेस्टमेन्ट र नबिलमात्रै हुन् । अन्य बैंकहरूको लगानी भने १ खर्बभन्दा कम देखिएको छ । त्यसपछिको कृषि विकास बैंकले ९९ अर्ब ८६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यसैगरी ग्लोबल आईएमई बैंकको ९३ अर्ब ३७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।