देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ठूला नदीहरुमा बाढीको उच्चजोखिम, सप्तरी र सुनसरी डुबानमापर्ने खतरा

देशान्तर

काठमाडौं। उपत्यकाका बागमती, विष्णुमती, धोविखोला, रुद्रमतीलगायत देशभरका ठूला नदीमा बाढी आएको छ । नदीमा आएको बाढीले विभिन्न ठाउँ डुबानमा परेको छ । बाढीका कारण काठमाडौंको बानेश्वर, बुढानिलकण्ठ, कालोपुल, अनामनगर, सुन्दरीजल आसपासको क्षेत्र डुबानमा परेको हो ।

राति १ बजेदेखि बाढी पसेपछि नदी किनारका बासिन्दा प्रभावित भएका छन् । सुन्दरीजलमा एउटा कुखुरा फर्म डुबाउँदा २ सय कुखुरा मरेको प्रहरीले जनाएको छ । त्यस्तै अनामनगरको आवासीय क्षेत्रमा धोबीखोलाको बाढी पसेको छ । जसले गर्दा अनामनगर क्षेत्र डुबानमा परेको छ ।

बाटो हिलाम्मे भएको छ भने ठाउँठाउँमा रहेका साना पूलहरू पनि बाढीले बगाई दिएको छ । अनामनगरको धोवी खोला आसपासको जनजीवन विहानैदेखि प्रभावित भएको छ । भूइँतलामा पानी पसेपछि भाडामा बस्नेहरूका खाद्यान्न लत्ताकपडा लगायतका अधिकांश सामाग्री बेकाम्मे भएका छन् ।

त्यसैगरी अहिले ठूला नदीहरु कालिगण्डकी, अरुण, सुनकोशी, तमोर र सप्तकोशीमा पानीको सतह खतराको तह नजिकै पुगेको छ । अबको एक दुई घण्टामा कोशीको चतराभन्दा तल सप्तरी र सुनसरीमा डुबानको खतरा रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

यस्तै पर्वतको कुस्मा कालिगण्डकीमा बाढी आएको छ आज बाग्लुङ, गुल्मी, स्याङजा, पाल्पा, तनहुँ, नवरपरासीको नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन शाखाले आग्रह गरेको छ । यस्तै नारायणी नदीमा पानीको सतह सतर्कता तह पार गर्ने अनुमान छ ।

गएराति सिन्धुपाल्चोकको जुरे आसपास १ सय मिलिमिटर भन्दा धेरै पानी परेपछि त्यहाँका बासिन्दालाई सावधानी अपनाउन बाढी पुर्वानुमान शाखाले आग्रह गर्दै एसएमएस पठाएको छ । विशेषगरी जुरेमा पहिरो गएको ठाउँमा बस्नेले सचेत हुनुपर्ने शाखाका बाढीविज्ञ विनोद पराजुलीले जानकारी दिनुभयो ।

यता कालीगण्डकी नदीले विद्यालय बगाएको छ । अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालय आज बिहान कालीगण्डकीले बगाएको हो । कालीगण्डकीले धार परिवर्तन गरेपछि ६ कोठे भवन बगाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्काले जानकारी दिनुभयो ।

कालीगण्डकीको बाढी करीब ४० मिटर बस्तीतर्फ पसेको छ । बाढीले लगातार जग्गा कटान गरिरहेको छ । पाँच दिनअघि कालीगण्डकीले आफ्नो धार परिवर्तन गरेर कटान शुरु गरेको हो ।

बाढीका कारण मुस्ताङ प्रवेश गर्ने पदमार्गमा पर्ने कोप्चेपानीको बस्ती जोखिममा रहेको वडाध्यक्ष चन्द्रप्रकाश फगामीले बताउनुभयो । कोप्चेपानीमा २४ घरधुरीको बसोबास छ ।