देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय सभा निर्वाचन र प्रदेश प्रमुख तोक्नुअघि कांग्रेसले सर्वदलीय छलफल गर्ने

देशान्तर

काठमाडौं ।

सत्ता नेतृत्वकर्ता दल नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनको मिति र प्रदेश प्रमुख तोक्नेबारे निर्णय गर्नु अघि सर्वदलीय छलफल गर्ने भएको छ ।

वाम गठबन्धनमा आवद्ध दलले प्रतिनिधिसभाको समानुपातिकतर्फको निर्वाचन परिणाम छिटो घोषणा गर्न निर्वाचन आयोगलाई दवाब दिइरहेका बेला कांग्रेस शीर्ष नेताको बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पदाधिकारी सहित काठमाडौंमा उपलब्ध कांग्रेस केन्द्रीय सदस्यहरुको बैठकमा सभापति देउवाले प्रदेश प्रमुखको नियुक्तिपछि मात्रै राष्ट्रिय सभा निर्वाचनको मिति घोषणा हुने बताउनु भएको थियो । देउवाको भनाई उद्दृत गर्दै केन्द्रीय सदस्य बालकृष्ण खाँणले भने प्रदेश प्रमुखको नियुक्तिका लागि प्रमुख दलका नेताहरुसँग छलफल पछि राष्ट्रियसभा निर्वाचनको मिति घोषणा हुन्छ ।

बैठकमा अन्य नेताहरुले राष्ट्रिय राजनीतिसँगै पाटी संगठनमा सुधारको खाँचो औंल्याएपछि सभापति देउवाले तत्कालका लागि केन्द्रीय समिति र केहीपछि महासमितिको बैठक राख्न आफु तयार रहेको सुनाएका थिए । सभापतिको अनुकुलतामा छिट्टै दुवै बैठकको मिति तोकिने नेता खाँणले बताए । निर्वाचनको समीक्षाभन्दा पनि महासमिति बैठक संघीय संरचना कार्यान्वयन भइसकेको अवस्थामा पार्टी विधानमा गरिनुपर्ने संशोधनमा केन्द्रित हुने उनले उल्लेख गरे । खाँणले भने, महासमिति बैठक आवधिक हो । त्यहाँ पार्टीको आन्तरिक राजनीतिबारे विस्तृतमा बहस हुन्छ ।’ छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्रीहरु कृष्ण सिटौला र विमलेन्द्र निधि, नेताहरु महेश आचार्य, पूर्णबहादुर खड्का, डा।रामशरण महत, खुमबहादुर खड्का लगायतको उपस्थिति थियो ।