काठमाडौं । एमाले र माओवादीबीचको एकता प्रक्रिया एकीकृत पार्टीको नेतृत्वमा अड्किएको छ । राष्ट्रिय सभा निर्वाचनका कारण प्रक्रिया लम्बिँदै गएपछि वाम गठबन्धनका प्रमुख नेता केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नयाँ सरकार गठनअगावै एकता टुंग्याउने गरी नियमित छलफल चलिरहेको छ । तर, दुई नेताबीचको छलफल एकीकृत पार्टीको नेतृत्वमा अड्किएको छ ।
एमाले अध्यक्ष ओली सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री बन्ने भएकाले एकीकृत पार्टीको नेतृत्वमा माओवादीले दाबी गरेको छ । तर, एमालेले भने महाधिवेशनअगावै त्यसरी जाँदा विधान र पद्धति कमजोर हुने भन्दै दुवै पार्टी प्रमुख बन्ने मोडलमा सहमति खोज्नुपर्नेमा जोड दिएको छ । स्रोतका अनुसार एमालेले ओली अध्यक्ष र प्रचण्ड सहअध्यक्ष रहने या दुवै महाधिवेशन आयोजक समितिको संयोजक रहने गरी सहमतिमा पुग्न सकिने विकल्प प्रस्तुत गरेको छ । केन्द्रमा दुवै पार्टीका शीर्ष नेताहरू रहेको महाधिवेशन तयारी सचिवालय बनाएर ६०/४० कै अनुपातमा दुवै पार्टीको केन्द्रीय समिति मिलाएर महाधिवेशन आयोजक समिति बनाएर जान सकिने प्रस्ताव गरेको छ ।
मुख्य चुनौती : शीर्ष नेताको व्यवस्थापन
एकतामा शीर्ष नेताहरूको व्यवस्थापन मुख्य चुनौती देखिएको छ । पार्टी प्रमुख भइसकेका एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा एमाले वरिष्ठ उपाध्यक्ष वामदेव गौतम र माओवादी वरिष्ठ नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल केन्द्रित रहेको स्रोतले जनाएको छ ।
ओली र प्रचण्डबीचको छलफलमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई निरन्तरता दिने कि नदिने विषयले समेत प्रवेश पाएको छ । एमाले नेता खनालले राष्ट्रपतिमा इच्छा देखाए पनि नेपालले भने परिस्थितिले साथ दिए पुनः एकपटक एकीकृत पार्टीकोे नेतृत्व लिने आकांक्षा देखाएका छन् ।
उता, निर्वाचनमा पराजित गौतम र श्रेष्ठलाई कसरी व्यवस्थापन गर्ने चुनौतीबीच थापालाई भने राष्ट्रिय सभाको नेतृत्व दिन सकिने विकल्पमा समेत कुरा भइरहेको स्रोतको दाबी छ । तर, गौतम र श्रेष्ठले भने पुनः राष्ट्रिय सभामा सांसद बन्ने आकांक्षा देखाएका छैनन् । ओली र प्रचण्डबीच राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षलगायत महत्वपूर्ण पदहरू भागबन्डा गर्ने विषयमा समेत छलफल केन्द्रित रहेको स्रोतको भनाइ छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रतिक्रिया