काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति सुरक्षा अहिलेको मुख्य चुनौती भएको भन्दै त्यसलाई चिर्न सुरक्षा निकायहरूलाई कडा निर्देशन दिएका छन् ।
गृह मन्त्रालयमा सोमबार आयोजित प्रदेश ३ स्तरीय सुरक्षा गोष्ठीमा गृहको समेत कार्यभार सम्हालेका देउवाले सुरक्षा निकायका प्रमुखहरू र उच्च अधिकारीलाई यस्तो निर्देशन दिएका हुन् ।
उनले शान्तिपूर्ण रूपमा निर्वाचन गराउन कुनै कसुर बाँकी नराख्न तथा निर्वाचनविरोधी तत्त्वलाई कारबाही गर्न निर्देशन दिएका छन् । मतदान बिथोल्न खोज्ने समूहलाई असफल बनाई जनतालाई सुरक्षाको प्रत्याभूति दिएर निर्धक्क रूपमा मतदान गर्ने वातावरण बनाउनसमेत उनले निर्देशन दिए ।
गोष्ठीमा नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू, रक्षा तथा गृह मन्त्रालयका उच्च अधिकारी, निर्वाचन आयोगका आयुक्त, प्रदेश ३ अन्तर्गतका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू पनि उपस्थित थिए ।
देउवाले जनताले भयरहित वातावरणमा मतदान गर्न सक्ने गरी सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिए । उनले सरकार निर्वाचनका लागि आवश्यक सबै सुरक्षा प्रबन्ध मिलाउन प्रतिबद्ध रहन र यसमा कसैसित कुनै सम्झौता नगर्न आग्रह गरे ।
बैठकमा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले विस्फोटका घटना बढेको भन्दै प्रहरीलाई प्रतिरक्षात्मक बन्न आदेश दिएका थिए । उनले निर्वाचन सुरक्षा चुस्त बनाउन नसक्ने जिल्लाका सुरक्षा प्रमुखलाई हेडक्वार्टरमा तान्ने चेतावनीसमेत दिए ।
गृह सचिव मोहनकृष्ण सापकोटाले निर्वाचन सुरक्षा चुनौती पहिचान भइसकेको र त्यसलाई समाधान गर्ने गरी सुरक्षा प्रबन्ध मिलाइसकिएको बताए । अधिकांश सहभागीले अवैध हतियार, विस्फोटक पदार्थ र केही स्थानमा सम्भावित बुथ कब्जालाई निर्वाचन सुरक्षाको मुख्य चुनौतीका रूपमा प्रस्तुत गरेका थिए ।
प्रधानमन्त्री देउवाले पनि मतदाता भडकाउने र मतदानस्थल कब्जा गर्ने मनसाय पनि सुरक्षा चुनौती बन्न सक्ने बताएका थिए । उनले सबै सुरक्षा निकायले सुरक्षा प्रणालीमा तहगत निर्देशनलाई उचित रूपमा पालना गर्ने गरी काम गर्न निर्देशन दिए ।
देउवाले सुदूरपश्चिमदेखि सुदूरपूर्वका जिल्लासम्म शृंखलाबद्ध विस्फोट र विस्फोटक पदार्थ बरामदका घटना एकपछि अर्को गर्दै देखिएपछि सुरक्षा रणनीतिमा फेरबदल गर्नुपर्ने कुरापनि आईरहेको बताए ।
प्रहरी प्रधान कार्यालयले आइतबारदेखि नै मातहतका सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा रहन निर्देशन दिएको छ । प्रधान कार्यालय नक्सालस्थित केन्द्रीय निर्वाचन सेलमा सबै प्रदेश सेलका प्रमुखसहितको बैठकले शृंखलाबद्ध विस्फोटका घटनामाथि समीक्षा गरेको थियो ।
उक्त बैठकले विप्लव माओवादीले छापामार शैलीमा आक्रमण गरेको भन्दै त्यसलाई रोक्न एन्टी छापामार शैलीको सुरक्षा गतिविधि सञ्चालन गर्न मातहतका सुरक्षा निकायलाई सर्कुलर गरेको थियो ।
बैठकमा विस्फोटका घटनापछि तुरुन्तै एक्सनमा जान र त्यस्ता गतिविधिमा संलग्नलाई तुरुन्तै पक्राउ गर्न पनि परिपत्र गरिएको छ । सामान्य अवस्थामा प्रत्येक दिन केन्द्रीय निर्वाचन सेलको बैठक बस्ने भए पनि आइतबार त्यस्तो बैठक बिहान र दिउँसो गरी दुई पटक बसेको थियो ।
प्रहरीले खानतलासी व्यापक बनाउन सर्कुलर जारी गरेकै भोलिपल्ट चितवनको भरतपुरबाट नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्ता बम बनाउन प्रयोग हुने कच्चा पदार्थ जिलेटिन ५ केजीसहित पक्राउ परेका छन् ।
प्रहरीले उनीहरूका साथबाट विस्फोटक पदार्थ बनाउन प्रयोग हुने तारलगायत सामग्री पनि बरामद भएको छ । निर्वाचन सुरक्षामा चुनौती थपिएको भन्दै सोमबार साँझ प्रधानमन्त्री देउवाले बालुवाटारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहितको बैठक डाकेका थिए ।
प्रतिक्रिया