काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन‘आकस्मिक हृदयघात’बाट भएको नर्भिक अस्पतालले बताएको छ ।माओवादी अध्यक्ष दाहाल अस्पताल पुगेपछि चिकित्सकहरुले प्रकाशको निधनको औपचारिक जानकारी गराएको हो ।
डा. यादव भट्टका अनुसार आज बिहान साढे ५ बजे अस्पताल लगिएको थियो । चिकित्सकहरुले विहान ६ बजे मृत्यु भएको घोषणा गरेका थिए ।
अस्पताल ल्याउँदा नै हात चिसो भइसकेको थियो भने पल्स नरहनुका साथै शरीर पनि केही कडा भइसकेको डाक्टरले बताएका छन् ।
अस्पताल ल्याउनु करिब ३ घन्टा अघि नै आकस्मिक हृदयघात भएको चिकित्सकले अनुमान गरेका छन् । प्रकाशको निधनपछि दाहाल परिवार शोकमा परेको छ । आमा सीता दाहाल अस्पताल समेत आउन सक्नुभएको छैन ।
चुनाव प्रचारका क्रममा झापामा रहेका माओवादी अध्यक्ष दाहाल छोराको निधन भएको खबर पाएलगतै हेलिकोप्टरबाट काठमाण्डौ आइपुग्नुभएको हो ।
दिवंगत प्रकाश दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने भएको छ । उहाँको शरिरलाई दिउँसो साढे १ बजेदेखि पार्टी कार्यालयमा अन्तिम श्रद्धान्जलीको लागि पार्टी कार्यालयमा राखिने प्रवक्ता पम्फा भूसालले जानकारी दिनुभयो । उहाँका अनुसार आजै अपरान्ह चार बजेपछि पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने छ ।
प्रतिक्रिया