रोल्पा । रोल्पामा माओवादी केन्द्रका नेताहरुलाई लक्षित गरी शुक्रबार बम प्रहार भएको छ । रोल्पाको लिवाङमा वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न सुलिचौरबाट लिवाङ जाँदै गर्दा लिबाङ नजिकै भदौरे जंगलमा निवर्तमान सभामुख ओनसरी घर्तीमगर, नेताहरु कृष्णबहादुर महरा र वर्षमान पुन चढेको गाडीलाई लक्षित गरी दुईवटा बम प्रहार भएको प्रहरीले जनाएको छ ।
भदौरे जंगलको भिरबाट नेताहरुको गाडी भन्दा १० मिटर अगाडि बम प्रहार भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए । घटनामा कुनै क्षति नभएको बताइएको छ । बम प्रहार भए लगत्तै प्रहरीले भदौरे भिरमा घेरा हालेर बम प्रहार गर्नेसमूहको खोजी गरिरहेको छ ।
सभामुख घर्तीलगायत वर्षमान र महरा लिवाङमा पुगिसकेका छन् । लिवाङ पुगेपछि नेता महराले बम आक्रमण हुनु अराजनीतिक भएको प्रतिक्रिया दिएका छन् । महरा कार्यक्रममा सहभागी हुन दाङबाट रोल्पा आएका हुन्। रोल्पा प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनुभएका वर्षमान र सभामुख ओनसरी रोल्पामै थिईन् ।
प्रतिक्रिया