काठमाडौं । ‘नानी पाउनु कहिले कहिले कोक्रोे बुन्नु अहिले’ भने जस्तै चुनाव सकिन एक महिना बाँकी रहँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका आधाभन्दा बढी नेताहरूलाई मन्त्री पद बाँड्दै हिडेका छन । उनले बाँडेको मन्त्रीको पदमा कति नेता पुग्ने हुन् यसको भने ठेगान छैन ।
ओलीले मन्त्री बनाइदिन्छु भन्दै आएका धेरैजसो नेताहरू चुनावमा पराजित हुने अवस्थामा छन् । जहाँ अरू पार्टीभन्दा एमाले कमजोर देखिएको छ त्यही निर्वाचनबाट चुनावमा लडेका नेताहरूलाई उनले मन्त्री पद बाँड्दै हिँड्न थालेका छन् ।
ओलीले निर्वाचन क्षेत्रमा पुगेर जनतालाई एमालेको उम्मेदवारलाई जिताए भोलि मन्त्री बनाइदिने र यस क्षेत्रको विकासका लागि पार्टीले समेत सहयोग गर्ने आश्वासन बाँड्दै हिँडेका छन् । अध्यक्ष ओलीले यसरी निर्वाचन क्षेत्रमा गएर निर्वाचन नै प्रभाबित हुने आश्वासन बाँड्न थालेपछि निर्वाचन आयोगले ओलीलाई दुई पटक सचेत पनि गराइसकेको छ ।
अध्यक्ष ओलीले काठमाडौं क्षेत्र नम्बर ५ मा गएर एमालेका उम्मेदवार एवं पार्टीका महासचिव ईश्वर पोखरेललाई जिताए ५ नम्बर क्षेत्रका जनताको विकासका लागि पोखरेललाई उपप्रधानमन्त्री बनाइदिने आश्वासन दिएका छन् । पोखरलेलाई कांगे्रसको उम्मेदवार डा.प्रकाशशरण महतले टक्कर दिइरहेका छन् ।
गएको संविधानसभा निर्वाचनमा पोखरेल कांग्रेसका नरहरि आचार्यसँग पराजित भएका थिए । अहिले पोखरेल हराउन वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष कम्मर कसेर लागेको छ । अहिले पनि पोखरलेको अवस्था राम्रो नभएको चर्चा भइरहेको छ ।
यस्तै अध्यक्ष ओलीले काठमाडौंं क्षेत्र नम्बर ४ मा गएर सो क्षेत्रबाट एमालेका उम्मेदवार डा.राजन भट्टराईलाई पनि मन्त्री बनाइदिने आश्वासन दिएका छन् । प्रतिनिधिसभा निर्वाचनमा भट्टराईलाई जिताए उनी मन्त्री हुने र यस क्षेत्रको विकासलाई अघि बढाउने भन्दै उनलाई मत दिएर जिताउन आग्रह गरेका छन् । भट्टराई कांग्रेसका युवा नेता गगन थापासँग भिड्दैछन ।
थापा गएको संविधानसभा निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित भएका थिए भने अहिलेको निर्वाचनमा पनि थापा विजयी हुने निश्चित जस्तै छ । ओलीले ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेका योगेश भट्टराईलाई पनि मन्त्री बनाउने आश्वासन दिएका छन् ।
ताप्लेजुङमा उनलाई टुरिष्ट उम्मेदवार भन्दै चुनावमा हराउने अवस्था भएपछि ओलीले भट्टराईले चुनाव जिते उनलाई यस क्षेत्रको विकासका लागि मन्त्री बनाएर पठाउने आश्वासन दिएका हुन् ।
यसैगरी ओलीले भोजपुर प्रदेशसभाका एमाले उम्मेदवार शेरधन राईलाई र सुनसरीबाट प्रदेशसभाका उम्मेदवार भीम आचार्यलाई प्रदेश नम्बर १ को मुख्य मन्त्री बनाउने आश्वासन दिएका छन् । अध्यक्ष ओलीले मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभाका एमाले उम्मेदवार लालबाबु पण्डितलाई पनि मन्त्री बनाउने आश्वासन दिएका छन् ।
मोरङ ६ बाट कांग्रेसका शेखर कोइराला भिड्दै छन् । कोइराला मोरङ जिल्लाकै सबैभन्दा बलिया उम्मेदवार हुन् । कोइरालाका अगाडि पण्डित निकै कमजोर देखिएका छन् ।
ओलीले ललितपुर क्षेत्र नम्बर १ का एमालेतर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नवराज सिलवाललाई पनि गृहमन्त्री बनाउने आश्वासन दिएका छन् । सिलवाल पूर्व डीआईजी हुन् भने राजनीतिक क्षेत्रका नयाँ अनुहार ।
उनको कांग्रेसका युवानेता उदय राणासँग प्रतिस्पर्धा हुँदैछ । राणा गएको संविधानसभामा यस क्षेत्रबाट विजयी भएका थिए भने अहिले पनि सिलवालभन्दा निकै बलिया देखिएका छन् ।
यसरी ओलीले हार्ने स्थिति देखिएका देशभरिका उम्मेदवारलाई मन्त्री पद बाँड्दै हिँडेका छन् । उनले गठबन्धनमा रहेको माओवादीका उम्मेदवारलाई भने आश्वासन दिनु त परै जाओस् भोट माग्न सहयोगसमेत नगरेको माओवादी नेताहरूले बताएका छन् ।
प्रतिक्रिया