काठमाडौं । आफ्नो पुरानो क्षेत्रमा हारिने डरले निर्वाचन क्षेत्र परिवर्तन गर्दै चुनावमा होमिएका संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरू थप असुरक्षित बन्दै गएका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मधेसवादी राजनीतिक दलका सबै शीर्ष नेता २ नम्बर प्रदेशबाट निर्वाचन लड्दैछन् । यसअघि पटकपटक १ नम्बर प्रदेशबाट चुनाव लड्दै आएका समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव यसपटक सप्तरी २ बाट चुनाव लड्दैछन् । यादव सप्तरी २ मा पनि सुरक्षित देखिएका छैनन् । कांग्रेसले उनका लागि उम्मेदवारी फिर्ता लिए पनि उनकै गठबन्धन राजपाका नेता जेपी ठाकुर बागी उठेका छन् । उपेन्द्रको प्रतिस्पर्धीका रूपमा वाम गठबन्धनबाट सोही क्षेत्रमा माओवादी केन्द्रका उमेश यादव चुनाव लड्दैछन् ।
झापादेखि कञ्चनपुरसम्म एउटै प्रदेश माग गर्दै आएका यी नेताहरू अहिले दुई नम्बर प्रदेशमा मात्र केन्द्रित भएका छन । राष्ट्रिय जनता पार्टीका नेताद्वय राजेन्द्र महतो र महन्थ ठाकुरले यो प्रदेशमै पनि जिल्ला परिवर्तन गरेका छन् । सर्लाहीबाट अघिल्लो चुनाव हारेका राजेन्द्र महतो धनुषा ३ बाट चुनाव लड्दैछन । जहाँ महतोले कांग्रेस नेता विमलेन्द्र निधिसँग प्रतिस्पर्धा गर्नु पर्नेछ । राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले पनि यो पटक आफ्नो चुनावी क्षेत्र छाडेका छन् । उनी पनि सुरक्षित स्थान खोज्दै महोत्तरी पुगेका छन् । महोत्तरीबाट पनि ठाकुरलाई चुनाव जित्न भने सहज छैन । महोत्तरी ठाकुरको जन्मस्थान भए पनि कर्मस्थानका कारण उनले सर्लाहीलाई चुनावी क्षेत्र बनाउँदै आएका थिए । तर विगतका दुई चुनावमा उनलाई एकपटक फोरम नेपालका शिवपूजन राय यादवले हराए भने अर्कोपटक डा.अमरेशकुमार सिंह हराए ।
महोत्तरी–२ बाटै राजपा अध्यक्ष मण्डलका सदस्य शरत्सिह भण्डारी पनि चुनावमा उठेका छन् । भण्डारीले यसअघि दुईवटा क्षेत्रबाट चुनाव हारेका थिए । पहिलो संविधानसभामा फोरम नेपालबाट महोत्तरी–४ बाट चुनाव जितेका थिए भने दोस्रो संविधानसभा चुनावमा उनले आफ्नै पार्टी बनाएर महोत्तरी–१ र ६ बाट चुनाव लड्दा पराजय भोगेका थिए । राजपा नेपालका अध्यक्ष मण्डलका अर्का सदस्य अनिल झा पनि अघिल्लो संविधानसभा चुनावमा हारेका थिए ।
अहिले उनी पनि राजपा नेपाल र फोरम नेपालको गठबन्धनबाट चुनाव लड्दैछन् । त्यस्तै अध्यक्ष मण्डलका अर्का सदस्य राजकिशोर यादव पनि यसअघि चुनाव हार्ने नेतामा परेका थिए तर अहिले उनी सिरहा–४ बाट चुनाव लड्दैछन । यसरी मधेसवादी दलका शीर्ष नेताले निर्वाचन क्षेत्र परिवर्तन गरेर आफ्नो जितलाई सुरक्षित ठाने पनि मतदाताले भने कसरी लिन्छन् र मत व्यक्त गर्छन् त्यो हेर्न बाँकी छ । अहिले भइरहेको मत सर्वेक्षण अनुसार दुई नम्बर प्रदेशमा केन्द्रित भएका ६ जना नेताको भविष्य भने सुरक्षित देखिएको छैन ।
प्रतिक्रिया