डडेल्धुरा । चुनाव आउन एक महिनामात्रै बाँकी रहँदा डडेल्धुरा जिल्ला सदरमुकामसँगै गाउँबस्तीमा समेत चहलपहल बढेको छ । डडेल्धुरास्थित ठूला राजनीतिक दलका झण्डा र पर्चा पम्पलेटले सदरमुकाम बागबजार भरिभराउ भएको छ । झण्डा र पर्चा पम्पलेट र ब्यानरले जिल्ला सदरमुकामजस्तै गाउँबस्ती पनि रंगिचंगी भएका छन् । लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका लागि चार पटक डडेल्धुराबाट लगातार चुनाव जितेका प्रधानमन्त्री शेरबहादुर देउवा पाँचौँ पटकका लागि चुनावी मैदानमा छन् । वाम घटकबाट नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य खगराज भट्ट प्रधानमन्त्री देउवासँग तेस्रो पटक चुनावी प्रतिष्पर्धा गरिरहेका छन् ।
प्रतिनिधि सभा सदस्यमा प्रधानमन्त्री देउवासँगै डडेल्धुरामा छ जनाले चुनावी मैदानमा छन् । दुईवटा प्रदेश रहेको डडेल्धुरामा पहिलो प्रदेशबाट नेपाली काँग्रेस र वाम एकताका गरी चारजनाले प्रतिष्पर्धा गरिरहेका छन् भने दोस्रोमा काँग्रेस र वाम एकतासँगै चारजना चुनावी दौडमा रहेका छन् । राप्रपा र नयाँ शक्ति नेपालले भने सोमबार नै काँग्रेसलाई समर्थन गर्ने गरी मनोनयन फिर्ता लिएका छन् ।
डडेल्धुरामा स्थानीय निकायको चुनावी परिणामलाई हेर्दा लोकतान्त्रिक गठबन्धन काँग्रेसका तर्फबाट प्रधानमन्त्री देउवा र वाम घटकबाट माओवादी केन्द्रका भट्टको प्रतिष्पर्धा रहने देखिन्छ । डडेल्धुरामा प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनका लागि प्रदेश नं १ मा ३८ मतदानस्थल रहेका छन् भने ५९ मतदान केन्द्र रहेका छन् । त्यसैगरी, प्रदेश नं २ मा ३९ मतदानस्थल रहेका छन् भने ५८ वटा मतदान केन्द्र रहेका निर्वाचन कार्यालय डडेल्धुराका प्रमुख कृष्णसिंह नायकले जानकारी गराए । स्थानीय निर्वाचनभन्दा करिब पाँच हजार ९५२ मतदातासमेत बढेको निर्वाचन कार्यालयले जनाएको छ ।
सातवटा मतदान केन्द्र थप भएका छन् । आलिताल गाउँपालिकामा तीन, अमरगढी नगरपालिकामा तीन र परशुराम नगरपालिकामा एक गरी मतदान केन्द्र थप भएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका प्रमुख नायकले जानकारी गराए । प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा डडेल्धुराबाट ८१ हजार ७३२ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ । प्रदेश नं १ मा ४० हजार ४० र प्रदेश नं २ मा ४१ हजार ७३२ जना मतदाता रहेका छन् । डडेल्धुरा जिल्लाका ७७ मतदानस्थलका ११७ मतदान केन्द्रमा चुनावी चहलपहल बढेको छ । आआफ्ना पक्षमा वा चुनाव चिह्नमा मत माग्न उम्मेदवार तथा कार्यकर्ता लागि परेका छन् ।
प्रतिक्रिया