देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यस्तो छापियो नयाँ मतपत्र

देशान्तर

काठमाडौं। निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै छापेको छ । सर्वोच्च अदालतको आदेशअनुसार आयोगले ३२ जिल्लाका लागि मतपत्र छपाइ कार्य सकेको हो । आगामी १० मंसिरमा प्रतिनिधिसभाका ३७ र प्रदेश सभातर्फ ७४ सिटमा हुने निर्वाचनमा ३२ लाख ९१ हजार ९४५ मतदाता सहभागी हुनेछन् ।

मतदाताभन्दा २० प्रतिशत बढी मतपत्र छाप्ने प्रचलन छ । समानुपातिक निर्वाचनका लागि आवश्यक मतपत्र भने आयोगले १० कात्तिकभन्दा अघि नै छापिसकेको छ । अहिले निर्वाचन सामग्री जिल्ला–जिल्ला पठाउने काम भइरहेको आयोगले जनाएको छ ।

यस्तो बन्यो प्रत्यक्षको मतपत्र
निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षको मतपत्र सुरुमा एउटै पानामा दुईवटा मतपत्रको ढाँचा तयार गरेको थियो । तर, सर्वोच्च अदालतले छुट्टाछुट्टै पानामा छाप्न आदेश दिएपछि नयाँ ढाँचा बनाएर आयोगले मतपत्र छाप्न थालेको हो । नयाँ ढाँचाअनुसार प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपत्रमा हरियो रङमा निर्वाचन चिह्न अंकित हुनेछन् । त्यसैगरी, प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्रमा कालो रङका निर्वाचन चिह्न अंकित हुनेछन् । ती मतपत्र छुट्टाछुट्टै मतपेटिकामा खसाल्नुपर्नेछ ।

निर्वाचन आयोगका अनुसार अब मतदाताले तीनवटा मतपत्रमा छाप लगाउनुपर्नेछ । रातो रङ भएको मतपत्र समानुपातिक निर्वाचन प्रणालीको हुनेछ, जुन पानाको माथिल्लो भागमा प्रतिनिधिसभाको मतपत्र हुनेछ भने तल्लो भागमा प्रदेश सभाको मतपत्र हुनेछ । एउटै पानामा रहेका दुईवटा मतपत्रको दुवैमा मतदान गर्नुपर्नेछ । प्रत्यक्षतर्फको मतपत्रमध्ये कालो रङको प्रदेश सभा र हरियो रङको प्रतिनिधिसभाको मतपत्र भएकाले मतपेटिका पनि ती मतपत्रका लागि छुट्टाछुट्टै राखिएको हुन्छ ।

गोविन्दराज जोशीको उम्मेदवारी खारेज
निर्वाचन आयोगले तनहुँ १ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका गोविन्दराज जोशीको उम्मेदवारी खारेज गरेको छ । शनिबार बसेको आयोग बैठकले विशेष अदालतले नैतिक पतन देखिने गरी भ्रष्टाचारको अभियोगमा फैसला गरिसकेकाले जोशीको उम्मेदवारी खारेज गरेको हो । उनको उम्मेदवारी खारेज गर्न कांग्रेस नेता रामचन्द्र पौडेलले आयोगमा उजुरी दिएका थिए ।

कुन उम्मेदवारविरुद्ध कस्तो उजुरी ?
रौतहट ४ का उम्मेदवार भोजेन्द्र ठाकुर लोहारको नाम समानुपातिकतर्फ भएको भन्दै कनिजा खातुनले उजुरी गरेकी छिन् । सिरहा ४ (क) का माओवादी उम्मेदवार दिलीपकुमार साहले बहुविवाह गरेको भन्दै परमेश्वर साहले उजुरी दर्ता गराएका छन् । आयोगमा परेका नौवटा उजुरीमा ललितपुर १ का एमाले उम्मेदवार नवराज सिलवालविरुद्ध विकास थिङ तामाङ र कास्की १ का उम्मेदवार टीकाराम पंगेनीले सार्वजनिक पद धारणा गरेको भन्दै कांग्रेसका प्रदेश सभातर्फका उम्मेदवार दीपक कोइरालाले उजुरी दर्ता गराएका छन् ।

नवलपरासी पश्चिमका ऋषिराज पौडेल लाभको पदमा रहेको भन्दै कांग्रेसका देवेन्द्रराज कँडेलले आयोगमा उजुरी दर्ता गराएका छन् । सर्लाही २ का माओवादी केन्द्रका उम्मेदवार रामेश्वर रायको नाम समानुपातिकमा रहेको भन्दै रामप्रीत सहनीले उजुरी दिएका छन् । मोरङ ६ (ख) का राजपा प्रदेश सभा उम्मेदवार नसरुल मियाँविरुद्ध यदुवंश साह हलुवाई र सुनसरी २ (क) का कांग्रेस प्रदेश सभा उम्मेदवार हेमकर्ण पौडेलविरुद्ध सर्वध्वज साँवाले उजुरी दर्ता गराएका छन् । यी उजुरीबारे आयोगले निर्णय गरिसकेको छैन ।(नयाँ पत्रीका)