काठमाडौं, ।
प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नका लागि ढुक्क भएर अगाडि बढ्न निर्वाचन आयोगका पदाधिकारीलाई सुझाव दिएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादव र आयोगका पदाधिकारीसँगको संयुक्त भेटमा शुक्रबार प्रधानमन्त्री देउवाले उक्त सुझाव दिएका हुन् ।
आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगबाट भइरहेको कामको प्रगतिकाबारेमा प्रधानमन्त्रीले आयोग पदाधिकारीसँग जिज्ञासा राखेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । सो अवसरमा प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन तोकिएको मितिमा सम्पन्न गर्नका लागि शान्ति–सुरक्षाको उचित व्यवस्थासहित सबै किसिमका सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए ।
भेटघाटका अवसरमा प्रमुख निर्वाचन आयुक्त डा। यादवले प्रधानमन्त्रीको नेतृत्वमा शान्ति–सुरक्षाको राम्रो व्यवस्थामा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मनोनयन उत्साहजनकरूपमा सफल भएकोमा प्रधानमन्त्रीलाई बधाइ ज्ञापन गरे ।
उनले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नका लागि मतपत्र छपाइलगायतका निर्वाचन सामग्रीको व्यवस्थापनको कार्य तीव्रताका साथ अगाडि बढाइएकाबारेमा प्रधानमन्त्रीलाई अवगत गराए । सो अवसरमा निर्वाचन आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह, नेपाल सरकारका मुख्यसचिव लोकदर्शन रेग्मी, गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा र निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालसमेत उपस्थित थिए ।
प्रतिक्रिया