देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० क्षेत्र निर्धारण

देशान्तर

काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन क्षेत्र तय गरी प्रतिवेदन बुझाउने अन्तिम तयारी गरेको छ । २१ दिने कार्यावधिभित्र क्षेत्र निर्धारण गर्न नसकेपछि आयोगले थपिएको १५ दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउन लागेको हो ।

आयोगका अनुसार प्रतिवेदन मंगलबारभित्र सरकारलाई बुझाइ सक्ने छ । आयोगले प्रदेश सभाका लागि ३३० र प्रतिनिधिसभाका लागि १६५ निर्वाचन क्षेत्र निर्धारण गरेको छ । हरेक जिल्लाको निर्वाचन सीमा निर्धारण गरी नक्सासहितको प्रतिवेदन तयार भइरहेको छ ।

आयोगले ७७ वटा जिल्लामा प्रतिनिधिसभाका लागि कम्तीमा एउटा निर्वाचन क्षेत्र हुने गरी प्रतिवेदन तयार गरेको छ । संविधानले जिल्लामा कम्तीमा एउटा निर्वाचन क्षेत्र रहने र बाँकी निर्वाचन क्षेत्र जनसंख्याका आधार निर्धारण हुने व्यवस्था गरेको छ । सोहीअनुसार ७७ जिल्लामा ७७ निर्वाचन क्षेत्र कायम भएपछि बाँकी ८८ वटा निर्वाचन क्षेत्र जनसंख्याका आधारमा निर्धारण भएको छ ।

जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्दा प्रदेश नम्बर ३ मा सबैभन्दा बढी अर्थात् ३३ वटा भएको स्रोतको भनाइ छ । स्रोतका अनुसार प्रदेश नम्बर २ मा ३२ र सबैभन्दा कम निर्वाचन क्षेत्र भने प्रदेश नम्बर ६ मा १२ वटा तय गरिएको छ । नयाँपत्रिका दैनिकमा खबर छ ।