काठमाडौं । दुई चरणमा भएका स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस दोस्रो स्थानमा खुम्चन बाध्य भयो । अहिले मुलुक २ नम्बर प्रदेशमा तेस्रो चरणको स्थानीय तहको निर्वाचनको मुखमा छ । तर प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा विधि–विधानको पालना गर्ने र पार्टीमा सबैलाई समेटेर लैजानेभन्दा पनि एकलौटी रूपमा अगाडि बढ्न लागेको प्रतित हुन्छ । कांग्रेसको विधानमा उपसभापतिलाई मात्र कार्यवाहक सभापतिको जिम्मेवारी दिन मिल्ने व्यवस्था छ । तर देउवाले भारत भ्रमणमा जाँदा पार्टीको वरीयतामा आठौं नम्बरमा रहेका केन्द्रीय सदस्य विमलेन्द्र निधिलाई कार्यवाहकको जिम्मेवारी दिएर धेरैलाई असन्तुष्ट बनाएका छन् । निधिभन्दा अगाडि वरीयतामा महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, कृष्ण सिटौला र गोपालमान श्रेष्ठ छन् ।
पार्टी विधानको धारा २४ को उपधारा १२ मा स्पष्ट रूपमा विदेश गएको अवस्थामा उपसभापतिलाई कार्यवाहकको जिम्मेवारी तोक्ने भन्ने उल्लेख छ । तर सभापति देउवाले महाधिवेशन सकिएको लामो समय बितिसक्दासमेत पदाधिकारी मनोनयन गर्न सकेका छैनन् । महाधिवेशन सकिएको दुई महिनाभित्र पदाधिकारी नियुक्त गरिसक्नुपर्ने वैधानिक व्यवस्थाको खिल्ली उडाएका देउवाले कार्यवाहक सभापति जिम्मेवारी दिँदासमेत विधानको खिल्ली उडाएका छन् । देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी तोक्दा न विधान, न मर्यादा मिलाएको भन्दै पार्टीमा चर्को आलोचना सुरु भएको छ । पार्टी तेस्रो चरणको स्थानीय तहको निर्वाचन तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति तोकिएको अवस्थामा पार्टीलाई एक ढिक्का बनाउनुपर्नेमा सभापति देउवा आफैं गुटको संरक्षणमा लागेको भन्दै पार्टीमा चर्को असन्तुष्टि सुरु भएको बताइएको छ ।
सभापति देउवाले पार्टीमा एक्लै हिँड्ने प्रवृत्तिका विरुद्धमा कोइराला परिवारका तीन नेता शशांक, सुजाता र शेखर पनि आक्रोशित बनेको बताइएको छ । शेखर र सुजाता देउवाप्रति सुरुदेखि नै आक्रामक देखिए पनि महामन्त्री डा. शशांक भने अलि नरम देखिँदै आएका थिए । तर दुई चरणको टिकट वितरणदेखि पार्टी सञ्चालनमा पनि देउवाले एकलौटी गर्न थालेपछि कोइराला राजनीतिक सन्देश दिनका लागि पनि एउटै मञ्चमा उभिएका हुन् । निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. रामशरण महतदेखि देउवा निकटका नेताहरू गोपालमान श्रेष्ठ र कुलबहादुर गुरुङदेखि अर्जुननरसिंह केसीसमेत असन्तुष्ट बनेको बताइएको छ ।
भारत भ्रमणमा जाने बेलामा सभापति देउवाले कार्यवाहक सभपातिको जिम्मेवारी दिनेदेखि पार्टीभित्र कुनै छलफल नै नगरी तीनवटा महत्वपूर्ण निर्णय गरेका छन् । देउवाले पार्टी विधानअनुसार केन्द्रीय सदस्य रमेश रिजाललाई अनुशासन समितिको संयोजक नियुक्त गर्दै सदस्यहरूमा सुरेन्द्र पाण्डे, दयाराम थानी, कमला पन्त र उमाकान्त चौधरीलाई समितिको सदस्यमा नियुक्त गरेका छन् । यसका साथै लामो समयदेखि रिक्त रहेका केन्द्रीय सदस्य पदमा चारजना नेताहरूलाई नियुक्त पनि गरेका छन् ।
स्रोतका अनुसार यसरी केन्द्रीय सदस्यमा नियुक्त हुनेहरूमा मन्त्रिमण्डलमा सामेल हुन चाहेर पनि स्थान सुरक्षित गर्न नसकेका पुराना कांग्रेस नेता पाल्पाका हरिप्रसाद नेपाल, वाराका राधेचन्द्र यादव, काठमाडौंका ध्यानगोविन्द रञ्जित र मोरङका अमृत अर्याल रहेका छन् । पार्टी विधानअनुसार देउवाले अझै पाँच जना सदस्यहरूको मनोनयन गर्न बाँकी रहेको छ । रञ्जित केन्द्रीय सदस्य पदमा नै महाधिवेशनमा पराजित भएका थिए ।
प्रतिक्रिया