देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री देउवा र समकक्षी मोदीबीच आठ समझदारी पत्रमा हस्ताक्षर

देशान्तर

काठमाडौं । प्रधानमन्त्री शेबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज बिहीबार आठ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपालको पुनर्निर्माणका लागि भारतले प्रतिबद्धता जनाएको २५ करोड अमेरिकी डलर (करिब २५ अर्ब रुपैयाँ) अनुदान सहयोग परिचालनका लागि चार विधामा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीअनुसार स्वास्थ्य, सांस्कृतिक सम्पदा र शिक्षा क्षेत्र क्रमशः पाँच, पाँच करोड अमेरिकी डलर र भूकम्पपीडितका घर निर्माणका लागि १० करोड अमेरिकी डलर (१० अर्ब रुपैयाँ) खर्च हुनेछ ।

भूकम्पपछिको पुनर्निर्माणको लागि भारतले सहयोग गर्ने वचन दिएको क्षेत्रहरु शिक्षा, स्वास्थ्य, संस्कृति तथा सम्पदा र आवासमा सहयोग कार्यान्वयन सम्बन्धी ‘मोडालिटी’ कस्तो हुने भन्ने बारेमा समझदारी भएको हो ।

त्यसैगरी अन्य चारवटामा मेची नदीमा पुल निर्माण, चार्टर्ड एकाउन्टेन्टहरु सम्बन्धी संस्थाहरुको समन्वय, नेपाल र भारतका उत्पादनहरुको निर्यात सम्बन्धी मापदण्ड निर्धारण व्यूरो बनाउने र अवैध लागुऔषध नियन्त्रण गर्ने सम्बन्धमा संयन्त्र निर्माण गर्ने सम्बन्धी समझदारी रहेको छ ।

बिहीबार बिहान साढे १० बजे प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजसंगको भेटपछि नेपाली र भारतीय पक्षबीचको औपचारिक भेटावार्ता सुरु भएको थियो । ११ बजेदेखि १२ बजेसम्म करिव एक घण्टा प्रधानमन्त्री देउवा र मोदीबीच एक्ला एक्लै भेटवार्ता भएको थियो भने त्यसपछि करिव साढे १ बजेसम्म करिव डेढ घण्टा प्रधानमन्त्रीहरुको नेतृत्वमा दुई पक्षीय भ्रमण दलको औपचारिक बैठक भएको थियो ।

वार्ताका क्रममा नेपाली पक्षमा प्रधानमन्त्री देउवासंगै उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत थिए भने भारतीय पक्षमा प्रधानमन्त्री मोदीसंगै विदेशमन्त्री सुष्मा स्वराज, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवललगायतका सहभागिता रहेको थियो ।