काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमनका लागि जादैछन् । पुग्न सम्भव सबै प्रभावित क्षेत्रमा पुग्ने गरि क्षतिको स्थलगत अध्ययन गर्न प्रधानमन्त्री देउवा प्रभावित क्षेत्रमा निस्कन लाग्नु भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बताए । प्रभावित क्षेत्रमा नेपाली सेना तथा निजी क्षेत्रका सबै हेलिकप्टरको सहयोग लिएर उद्धार, राहत र स्थलगत निरीक्षणको काम तिब्र रुपमा अगाडी बढाउन प्रधानमन्त्री देउवाले निर्देशन दिइसकेका छन् ।
प्रधानमन्त्रीले आज स्थलगत निरिक्षण गरेर यकिन तथ्यांक आएपछि आवश्यकताका आधारमा अन्तराष्ट्रिय समुदायसित सहयोग लिन आग्रह गर्न सकिने बुझिएको छ । यस्तै बाढी प्रभावितलाई राहत तथा उद्धारका लागि प्रयास भइरहेको सरकारले जनाएको छ । बाढी प्रभावित जिल्लामा हेलिकप्टर मार्फत खाद्यान्न पठाउने तयारी भएको छ ।
मौसम धुम्मिएकाले सुधार हुनासाथ सेनाको हेलिकोप्टरबाट खाद्यान्न पठाइने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार खाद्यान्न ढुवानीका लागि हेटौंडामा सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । खाद्यान्न समेत लोड भइसकेको छ । मौसम खुल्नासाथ उडान थाल्ने उनले बताए । यस्तै स्थलगत जान सकिने ठाउँमा स्थलमार्ग हुँदैपनि खाद्य सामग्री पु¥याउन थालिएको उहाँले जानकारी दिए ।
प्रतिक्रिया