देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतको फेरी नेपाल माथि अघोषित नाकाबन्दी

देशान्तर

कठमाडौं । भारतीय सशस्त्र सिमा सुरक्षा बल (एसएसवी) ले रुपन्देहीको भैरहवास्थित बेलहीया–सुनौली सिमा नाकामा तीन हप्तादेखि रहस्यमय रूपमा अवरोध गरिरहेको छ ।

अवरोधका कारण भैरहवा भन्सारको राजस्व संकलन प्रभावित भएको छ । साउनको पहिलो हप्तादेखि सुरक्षामा कडाइ गर्दै कम सवारीसाधन आवतजावत गराइरहेको भारतीय पक्षले पछिल्ला दिनहरुमा झनै कडाइ गर्दा समेत नेपाल पक्षभने चुपचाप बसेको छ ।

नेपाल आउने गाडी र यात्रुहरुमा भारतीय पक्षले सिमा नाकामा पुर्याइरहेको अबरोधका बिषयमा कुनै जानकारी गराएको छैन । भारत प्रवेशद्वारको मूलगेटमा बसेर एसएसबीले यात्रुहरुको समेत सबै खानतलासी लिदै आएको छ ।

यसअघि सामान्य हिसाबले चेकजाँच गर्ने भारतीय सीमा सुरक्षा बलले अहिले एउटा सवारी साधन चेकजाँच गर्न पनि आधा घण्टाभन्दा बढी समय लगाउने गरेको छ । तर, के कारणले अवरोध गरिएको हो भन्ने खुलाएको छैन ।

यसको सबैभन्दा बढी मार निर्यातमा देखिएको छ । नेपाल तथा भारततर्फ मालवाहक सवारी साधनको लामो लाइन छ । नेपालमा सामान अनलोड गरेर भारत जान लागेका खाली सवारीसाधनहरुमा समेत एसएसबीले कडा चेकजाँच गरिरहेको छ । भारतीय पक्षका कारण भैरहवा भन्सारबाट पछिल्लो दिनमा निर्यात प्रायः ठप्प छ ।

आयातमा समेत असर परेको छ । अवरोधका कारण दैनिक ५ देखि ७ करोडमसम्म घाटा भइरहेको छ भने सयौं सवारीसाधन बाहिरिने यो नाकामा भारतीय पक्षले दुई–चार जना सुरक्षाकर्मी राखेर लामो समय चेकजाँच गर्दा आयात–निर्यात पुर्ण रुपमा प्रभावित भएको छ ।

सामान्य अवस्थामा दैनिक १८ देखि २० करोडको राजश्व संकलन हुने यो नाकामा अवरोध भएपछि दैनिक १२–१३ करोडमात्रै राजश्व संकलन हुने गरेको छ । भन्सार कार्यालयको तथ्यांक हेर्दा मात्रै दैनिक ५ देखि ७ करोडसम्म राजश्व संकलनमा घाटा भइरहेको छ ।

नेपालबाट निर्यात हुँदै आएका सामान पनि नाकामै रोकिएका छन् । जसले निर्यातमा पनि नकारात्मक प्रभाव देखिएको छ । भारतको अघोषित नाकाबन्दीका बेलासमेत सहज रहेको नाका बिनाकारण अवरोध हुँदा यस क्षेत्रका ठूला उद्योगधन्दा र यहाँ खुल्ने भनिएका व्यावसायिक प्रतिष्ठानहरु पनि अन्यत्र स्थानान्तरण हुनसक्ने चिन्ता व्यवसायीलाई छ ।

साउन पहिलो सातादेखि सुरक्षा अवस्था देखाउँदै सीमा क्षेत्रमा भारतीय पक्षले अवरोध गरेपछि नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी, भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय, भारतीय सुरक्षा बलका डिआइजी, नेपाली सुरक्षा निकायका प्रमुखहरुबीच गत हप्ता भएको छलफलमा भारतीय अधिकारीहरुले सीमा क्षेत्रमा अवरोध नगर्ने जनाएका थिए ।

सहमति बमोजित चार–पाँच दिन सवारी साधान आवतजावत गरे पनि पुनः सुरक्षा अवस्थालाई देखाउँदै भारतीय पक्षले नेपालबाट भारततर्फ जाने सवारी साधनलाई गत बुधबारदेखि थप कडाइ गरेको हो ।