काठमाडौं । आज नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघको ७० औं स्थापना दिवस । नेपाल महिला संघले बिभिन्न कार्यक्रमको आयोजना गरि देशभर मनाउदै छ । नेपाल महिला संघले साँझ ५ वजे महिला संघको केन्द्रीय कार्यालय परिसरमा रहेको स्व. मंगलादेवी सिंहको शालिकमा दीप प्रज्वलन गरि मनाउन लागेको महिला संघका महासचिव धनालक्ष्मी खतिवडाले जानकारी दिइन् । लोकतान्त्रिक राज्य व्यवस्था एवं मूल्य पद्धतिको स्थापनाको लागि महिला नेतृ स्व. मंगलादेवी सिंहको सकृयतामा वि.सं. २००४ सालमा महिला संघको स्थापना भएको छ । २००४ साल श्रावण २४ गतेका दिन मंगलादेवी सिंहको सक्रियतामा भेडासिं स्थित चिनियालाल श्रेष्ठको घरमा भूमिगत रुपमा महिला भेलागरी मंगलादेवी सिंहको अध्यक्षतामा नेपाल महिला संघको पहिलो ११ सदस्यीय तदर्थ कार्यसमिति गठन भएको थियो । महिला संघले यसैलाई आफ्नो स्थापनको मिति मान्दै आएको छ ।
महिला संघले २००७, २०३६, २०४६ र २०६२/ ०६३ सालको राजनीतिक आन्दोलनमा सकृय भूमिका निर्वाह गरी गौरवशाली ऐतिहासिक जिम्मेवारी वहन गर्दैै आएको छ । नेपालमा पहिलो पटक महिलाको उत्थानको लागि वि.सं. १९७४ मा दिव्यादेवी कोइरालाको सक्रियतामा महिला समिति गठन भएको थियो । त्यस समयका अग्रणी महिलाहरु– योग माया देवी, चन्द्रकान्ता, लक्ष्मीदेवी, तुलजा शर्मा, मेलवादेवी, द्वारिकादेवी चन्द ठकुरानी आदि महिलाहरुको योगदानको आधारमा टेकेर महिला संघको स्थापना भएको हो ।
१९९८ साल आषाढ २१ गते शनिवार योगमाया देवी न्यौपानेको नेतृत्वमा ६८ जनाले राणा शासनको विरुद्धमा तथा सामाजिक सुधारको पक्षमा संगठीत रुपमा जलसमाधी (देहत्याग) गरेर पहिलो महिला संर्घषका रुपमा लिने गरिन्छ । २००३ सालमा आदरणीय नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको विराटनगर जुटमिल आन्दोलनमा दिव्यादेवी कोइराला, नलीनी उपाध्याय, इन्दिरा आचार्य, कामीनी गिरी जेल चलान (प्रजातान्त्रिक आन्दोलमा संलग्न भएर जेल चलान जाने सम्भवतः प्रथम महिलाहरु थिए । २००४ सालमा राणा शासनको चरमोत्कर्षको समयमा शान्ति निकुञ्ज विद्यालयका शिक्षिकाहरु र छात्राहरु म्हेपीमा पिकनिक जाने वाहानामा भेला भई महिला सम्मेलन गरि भूमिगत रुपमा नेपाल महिला संघको स्थापना गर्न आधार तयार पारेका थिए ।
२००७ सालमा नेपाली कांग्रेसको नेतृत्वमा मूलुकमा राणा शासन विरुद्धको ठूलो सशस्त्र क्रान्ति भयो उक्त क्रान्तिमा महिला नेतृहरु मंगलादेवी सिंह, दिव्या कोइराला, नलिनी उपाध्याय, इन्दीरा आचार्य, विजया लक्ष्मी, नोना कोइराला आदिले गोप्य रुपमा क्रान्तिका लागि ल्याइएका हतियार राख्ने, घाइतेको औषधोउपचार गराउनुको साथै क्रान्ति सफल पार्न आवश्यक भूमिका निर्वाह गरेका थिए । २००७ सालको क्रान्ति पछि पार्टीहरु स्वतन्त्र भए सोहि अनुरुप नेपाल महिला संघ पनि खुल्ला रुपमा काम गर्न थाले थियो । २००८ साल श्रावण २७ गते काठमाडौंको भूगोल पार्कमा प्रजातन्त्रवादी महिला नेतृहरुको वृहत भेला भएको थियो । उक्त भेलाले मंगलादेवी सिंहको अध्यक्षतामा रहेको कार्यसमितिलाई वैधानिकता प्रदान गरेको थियो ।
प्रतिक्रिया