देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भरतपुर १९ मा मतदान जारी,३ हजार ८ सय ९७ मतदाता

देशान्तर

काठमाडौं । चितवन भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मतदान जारी छ । बिहान ७ बजेदेखि नै सुरु भएको मतदान प्रक्रिया शान्तिपूर्ण रुपमा भैरहेको छ ।

भरतपुर–१९ मा तीनवटा मतदानस्थलमा छवटा मतदान केन्द्र रहेको छ ।सबै मतदान केन्द्रमा अहिले शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ । किरण मावि, किरणगञ्ज मतदानस्थलमा एक हजार २४८, जीवनज्योति स्कुल गुञ्जानगरमा एक हजार ३०६ र शारदानगर माविमा एक हजार २४३ गरी कुल तीन हजार ८९७ मतदाता छन् ।

जेठ १४ गते राति गणनाका क्रममा मतपत्र च्यातिएपछि विवादित बनेर मुद्दा परेको भरतपुर–१९ को विषयमा सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएपछि आजका लागि मिति तोकिएको थियो ।

बिहानैदेखि वर्षा जारी रहे पनि मतदान रोकिएको छैन । वैशाख ३१ गते भएको पहिलो चरणको निर्वाचनको मतगणनाका क्रममा जेठ १४ गते राति माओवादीका दुई कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना स्थगित भएको थियो ।

निर्वाचन आयोगले छानविनपछि पुनः मतदान गराउने निर्णय गरेको भए पनि नेकपा एमालेका दुई कार्यकर्ताले सर्वोच्चमा आयोगको निर्णयविरुद्ध रिट दायर गरेपछि लम्बिएको थियो ।

सर्वोच्च अदालतले पनि आयोगले दिएको निर्णय सदर गर्दै पुनः मतदान गर्ने फैसला सुनाएपछि आजका लागि मतदानको समय तोकिएको हो ।
वडा नम्बर १९ मा ३ हजार ८ सय ९७ मतदाता रहेका छन् ।

तीन तहको सुरक्षा घेरा बनाएर सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान बिहान ७ बजेबाट सुरु भएर ५ बजेसम्म हुनेछ । भरतपुरका २७ वटा वडाको अन्तिम परिणामअनुसार, एमालेका प्रमुखका उमेदवार देवीप्रसाद ज्ञवालीले ४० हजार ९८० मत प्राप्त गरेका छन् भने माओवादी–कांग्रेस गठबन्धनकी रेणु दाहालले ४० हजार १९४ मत प्राप्त गरेकी छन् ।