देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भरतपुर–१९ मा पुनः मतदान सुरु

देशान्तर

नारायणगढ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा स्थानीय तह निर्वाचनको पुनः मतदान शुरु भएको छ । कडा सुरक्षा व्यवस्थासहित बिहान ७ बजेबाट मतदान शुरु भएको हो । वडाका ६ वटा केन्द्रमा ३६ जना कर्मचारीसहित ठूलो संख्यामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।

नेपाल प्रहरीका ४ सय ६१, सशस्त्रका ३ सय र तेस्रो घेरामा नेपाली सेनाका एक सयभन्दा बढी खटिएका छन् । प्रत्येक केन्द्रमा प्रहरी निरीक्षकको नेतृत्वमा सुरक्षाकर्मी खटाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो । निर्वाचनलाई शान्तिपूर्ण र धाँधलीरहित बनाउन सबै बुथलाई संवेदनशील घोषणा गरी विशेष सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । वडामा हिजै साँझदेखि अघोषित रुपमा सवारी साधन आवतजावत बन्द गरिएको छ ।

वर्षाले मतदान नबिथोलियास् भनेर प्रत्येक केन्द्रमा पालको व्यवस्था गरिएको छ । यो वडामा ४ हजार ७ सय ९७ मतदाता छन् । गत वैशाख ३१ गतेको चुनावमा यो वडाबाट २ हजार ८ सय ९७ मत खसेको थियो । मतगणनाका क्रममा जेठ १४ गते मतपत्र च्याति दिएपछि अन्योल छाएको थियो । त्यसपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय लिएको थियो ।

तर, पुनः मतगणनाको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले पनि आयोगकै निर्णयअनुसार फैसला गरेपछि पुनः मतदान गर्न लागिएको हो । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका देवी ज्ञवाली र नेकपा माओवादी केन्द्रबाट रेणु दाहाल चुनावी प्रतिस्पर्धामा छन् । महानगरका सबै वडाको गणना भइसके पनि २० नम्बरको भने बाँकी छ ।