काठमाण्डौ । संबिधान कार्यन्वयनका लागि साताभित्रै पास हुनुपर्ने ६० भन्दा बढि बिधेयक व्यवस्थापिका संसदमा अलपत्र परेका छन । सभामुख ओनसरी घर्तीले सरकारलाई दवाब नदिदा यसअघि नै पारित भईसक्नुपर्ने र तत्काल पारित गराउनुपर्ने ५ दर्जन विधेयकहरु पारित हुन सकेका छैनन ।
बिधेयक पारित गराउने बिषयमा सरकार उदासिन रहेको भन्दै सभामुख ओनसरी घर्तीले पहल गर्नुको साटो त्यसलाई अलपत्र पार्नेगरी एक साता सम्म संसद बैठक नै लागि स्थगित गर्नुभएको छ ।
सरकारले संसदलाई कुनै बिजनेश नदिएको भन्दै घर्तीले संसद बैठक एक साताका लागि स्थगित गर्नुभएको हो । निर्वाचन आयोगले प्रदेश र संसदको चुनावका लागि आवश्यक ऐनकानुन बनाउन ताकेता गरिरहेको अवस्थामा राष्ट्रपति,उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी र राष्ट्रियसभाको निर्वाचन सम्बन्धी विधेयक अहिलेसम्म सरकारले संसदमा पेश नै गरेको छैन ।
आगामी माघ ७ गतेको ‘डेडलाइन’ घर्किदै जाँदा निर्वाचन सम्बन्धी नै कतिपय बिधेयक पास गराउन बाँकि छन । आगामी माघ ७ को संवैधानिक सीमालाई ध्यानमा राखेर ५ वटा कानुन पारित गर्नुपर्नेमा ३ ओटाको अझै पारित हुने नहुने कुनै अत्तोपत्तो छैन ।
बिधेयक पारित गराउने बिषयमा सभामुख घर्ती मात्र हैन कानुनमन्त्री गोपालमान श्रेष्ठ समेत विधेयकको चाङ छाडेर अष्ट्रेलिया भ्रमणमा जानुभएको छ । दफावार छलफलपछि सदनबाट छलफल र पारित गर्न सकिने अवस्थामा १७ ओटा विधेयक तयारी हालतमा छन् ।
तीमध्ये अधिकांश संविधान कार्यान्वयनसँग सम्बन्धित छन् ।संविधानले व्यवस्था गरेका बिभिन्न जातीय, भाषिक र धार्मिक आयोगहरु गठन गर्नका लागि पेश भएका विधेयक पारित हुनमात्र बाँकी छ भने बिभिन्न १६ वटा विधेयक संसदका सम्बन्धित समितिहरुमा बिचाराधीन रहेका छन ।
प्रतिक्रिया