काठमाण्डौ । नेपाली कांग्रेसले आगामी माघ ७ भित्र प्रदेश र संघीय संसद्को चुनाव सम्पन्न गर्ने संकल्प गरेको छ । सबै चुनावका लागि कानुनी, राजनीतिक वातावरण निर्माण गर्न बैठकले सरकारसँग आग्रह गर्दै संसदमा दर्ता भएको संविधान संशोधन विधेयकलाई मतदानमा लैजाने निर्णय लिएको छ ।
तीन दिनदेखि चलेको केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकले संशोधन विधेयक पारित गर्न सहयोगका लागि सबै राजनीतिक दलसँग आग्रहसमेत गरेको छ । बैठकमा बोल्ने ६१ केन्द्रीय सदस्यमध्ये अधिकांशले संशोधन विधेयक मतदानमा लगेर टुंग्याउन नेतृत्वलाई दबाब दिएका थिए ।
माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरमसमेतसँग भएको सहमति कार्यान्वयन गर्ने तत्परता प्रकट गर्दै कांग्रेसले निर्णयमा भनेको छ, ‘व्यवस्थापिका संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकलाई पारित गर्ने प्रक्रिया निर्णयार्थ प्रस्तुत गर्ने र पारित गर्नका लागि सबैलाई आग्रह गर्ने ।
कांग्रेसले आगामी माघ ७ भित्र प्रदेश र संघीय संसद्को चुनाव सम्पन्न गर्ने संकल्पसमेत लिएको छ। सबै चुनावका लागि कानुनी, राजनीतिक वातावरण निर्माण गर्न बैठकले सरकारसँग आग्रह गरेको छ । रामचन्द्र पौडेल पक्षीय नेताले देउवाको आलोचना गरेका थिए। सबैभन्दा चर्को आलोचना पूर्वमहामन्त्री प्रकाशमान सिंहले गरे। पार्टीलाई एकलौटी ढंगबाट अघि बढाउन खोजेको उनको आरोप थियो।
चुनावी समीक्षाको एक मात्र एजेन्डा राखेर डाकिएको बैठकमा अधिकांश केन्द्रीय सदस्यले पार्टी दोस्रो हुनुमा नेतृत्वले चुनावी रणनीतिअनुसार काम गर्न नसक्नुलाई मुख्य कारक औंल्याएका थिए। चुनावका मुखमा अलोकप्रिय निर्णय लिनु, समयमा उम्मेदवार दिन नसक्नु, विपक्षीको आरोप सशक्त रूपमा खण्डन गर्न नसक्नु, उम्मेदवार बनाउँदा जनप्रिय, लोकप्रियभन्दा पनि आफ्नो गुट र पहुँचका आधारमा बनाइनुजस्ता कारण कांग्रेस दोस्रो स्थानमा पुगेको उनीहरूको भनाइ थियो। तीन दिनसम्म चलेको बैठकमा ६१ जना केन्द्रीय सदस्यले बोलेपछि सभापति देउवाले आफूमाथि आलोचना भएका मुख्य विषयमा जवाफ दिएका थिए।
उनले पार्टी यसअघि पनि दोस्रो स्थानमा रहेको बताउँदै अन्तर्घातकै कारण यस्तो भएको बताएका थिए। ‘चुनावमा खुलेआम अन्तर्घात भएको छ। अन्तर्घातीलाई कारबाही नगरी चुनाव जितिँदैन,’ देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘सबै अन्तर्घातीलाई छानीछानी कारबाही हुन्छ।’ अन्तर्घात गर्नेमाथि कारबाही गर्न अनुशासन समिति बनाउने प्रयास बैठकमा भए पनि संयोजकमै सहमति जुटेन। बैठकले अन्तर्घात गर्नेलाई छानबिन प्रक्रिया अघि बढाई कारबाही प्रारम्भ गर्ने निर्णय लिएको छ ।
वरिष्ठ नेता पौडेलले सभापति देउवाबाट त्याग हुन नसकेको भन्दै आलोचना गरे। पार्टीमा एक व्यक्ति एक पद हुनुपर्ने विषय उठाउँदै पौडेलले भने, ‘शेरबहादुरजीले नै पार्टीमा एक पद एक व्यक्तिको कुरा उठाउनुभएको थियो तर उहाँ लिन मात्रै जान्नुहुन्छ, दिन जान्नुहुन्न।’
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रदेश र संघीय संसद्को चुनावको तत्काल कार्ययोजना ल्याउन देउवासँग माग गरे। महामन्त्री शशांक कोइरालाले कम्युनिस्टहरूसँग गठबन्धन गरेर कांग्रेस अघि बढ्न नहुने बताए। ‘कम्युनिस्टहरूसँग गठबन्धन गरेर चुनाव लड्ने पक्षमा म छैन,’ उनले भने। केन्द्रीय सदस्य विमलेन्द्र निधिले प्रदेश २ मा सय स्थानमा कांग्रेसले जित्न सक्ने अवधारणा बैठकमा प्रस्तुत गरेका थिए।
१५ महिनाअघि सम्पन्न १३ औं महाधिवेशनबाट सभापति निर्वा्चित देउवाले यसपटकको केन्द्रीय कार्यसमिति बैठकमा पनि पार्टी पदाधिकारी, विभाग र समितिलाई पूर्णता दिन सकेका छैनन्। सोमबार बैठकको समापन गर्दा पनि उनले तत्कालै पार्टी पदाधिकारी र विभागलाई पूर्णता दिने प्रतिबद्धता जनाए। बैठकमा कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरू पूर्णबहादुर खड्का, रामशरण महत, बालकृष्ण खाँड, फरमुल्ला मन्सुर, केसी, ज्ञानेन्द्रबहादुर कार्कीलगायतले पार्टी संगठन बलियो बनाउन विगतका कमजोरी त्यागेर एक हुनुपर्नेमा जोड दिएका थिए।
अर्थमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य कार्कीले पार्टी सभापतिलाई अधिकारसम्पन्न बनाउनुपर्ने प्रस्ताव गरेका छन्। पार्टी नेतृत्वको हातखुट्टा बाँधेर पार्टी संगठन बलियो नहुने भन्दै कार्कीले तत्काल महासमिति बैठक बोलाएर विधान संशोधनमार्फत पार्टी सभापतिलाई पूर्ण कार्यकारिणी अधिकार दिइनुपर्ने माग राखेका हुन्। यसअघि केन्द्रीय सदस्य शेखर कोइरालाले पनि यो माग उठाउँदै आएका छन्।
प्रतिक्रिया