देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसले विगतको गल्ती नदोहोर्‍याउने

देशान्तर

काठमाडौं । लामो समयपछि बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा सदस्यहरूले पार्टी नेतृत्वको कार्यशैलीप्रति चरम असन्तुष्टी व्यक्त गरेका छन् । उनीहरूले पार्टी नेतृत्वको कार्यशैली सुस्त, अपारदर्शी र सत्ता सहयात्री दल नेकपा माओवादी मोहमा लिप्त भएको भन्दै नेतृत्वको आलोचना गरेका हुन् । दुई चरणमा भएका स्थानीय तहको निर्वाचनमा पार्टी पोजिसन दोस्रो स्थानमा आएपछि चुनावको समीक्षाका लागि बसेको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरूले पार्टी सञ्चालनको कार्यशैली तथा पार्टी नेतृत्वको सरकार संचालनको कार्यशैलीप्रति असन्तुष्टी जनाएका हुन् । उनीहरूले पार्टी र सरकार अपारदर्शी ढंगले सञ्चालन भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । नेतृत्व अपारदर्शी ढंगबाट चलेका कारण चुनावमापार्टी दोश्रो भएको भन्दै नेतृत्वप्रति आक्रोश पोखेका हुन् । यद्यपी पार्टीलाई पारदर्शी ढंगले सञ्चालन गरेर गुटबन्दीको अन्त्य गरे जनताले नेपाली कांग्रेसको साथ नछोडेको धेरै केन्द्रीय सदस्यहरूको तर्क थियो ।

संसारमा जहाँ पनि सत्ता परिवर्तन हुनासाथ महान्यायाधिवक्ताले राजीनामा दिने प्रचलन छ । राजिनामा नदिए पदबाट हटाइन्छ । महान्यायाधिवक्ता सरकारी वकिलहरूको हाकिममात्र हैन प्रधानमन्त्रीको कानुनी सल्लाहकार पनि हो । संक्रमणकालमा प्रधानमन्त्रीले गर्ने कार्यहरूमध्ये धेरैजसो ऐन कानुन र संविधानसँग गाँसिएका छन् । यो अवस्थामा पनि प्रधानमन्त्रीले किन कांग्रेसप्रति प्रतिबद्ध व्यक्तिलाई कानुनी सल्लाहकार नबनाएका हुन् र प्रचण्डका विश्वासपात्र एवं विभिन्न काण्डमा मुछिएका रमण श्रेष्ठलाई निरन्तरता दिएका छन् रहस्यको विषय बनेको छ । कानुनविद्हरूका अनुसार सरकार र न्यायपालिकाबीच केही समय अगाडि असमझदारी उत्पन्न हुनुको कारण रमण श्रेष्ठ नै मानिन्छ । रमणले आफ्नो स्वार्थमा रहेका कतिपय मुद्दा उनको अनुकूल फैसला नभएको र उनले गरेका कतिपय स्वार्थपूर्ण आग्रहलाई तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले स्वीकार नगरेको कारणले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरवहादुर देउवालाई गलत सूचना प्रवाहित गरी न्यायपालिका र कार्यपालिकाबीचको सम्बन्ध कटु बनाएको आशंका छ ।

सुशीला कार्कीलाई एमाले पक्षधर हुन् भन्ने भ्रामक प्रचारको पछाडि पनि रमणकै हात रहेको बुझिन्छ । आखिर त्यो रणनीतिले वर्तमान प्रधानमन्त्री देउवासमेत अन्तत: जनताबीच लज्जित भएर महाअभियोग प्रस्ताव फिर्ता लिने निष्कर्षमा पुग्नु पर्‍यो । कार्कीविरुद्ध महाअभियोग ल्याएबापत देशभरिका कांग्रेस कार्यकर्ताहरू रुष्ट बने । कांग्रेसले न्यायपालिकामाथि हस्तक्षेप गर्न खोजेको आरोप झेल्नु पर्‍यो । माओवादीद्वारा नियुक्त तर महान्यायाधिवक्ताको सल्लाहको कारणले बेहोर्नु परेको क्षति पूरा गर्न देउवालाई धेरै समय लाग्नेछ । रमण श्रेष्ठ अब न्यायाधीशको लागि मोलतोल गर्दै सर्वोच्च अदालतमा आफूलाई प्रवेश गरिएमात्र राजीनामा दिने बताइरहेका छन् । यस्ता व्यक्ति सर्वोच्चको न्यायाधीश नै भएमा त्यसको परिणाम र प्रतिक्रिया के हुन सक्छ कालान्तारमा कांग्रेसलाई लाभ वा घाटा हुन सक्छ भन्ने हेक्का कांग्रेसले राख्नुपर्छ भन्ने प्रजातन्त्रवादी कानुनविद्हरूको भनाइ छ । प्रधानमन्त्री देउवाले सत्ता सम्हालेको यति समय बितिसक्दा पनि कानुनी सल्लाहकार परिवर्तन गर्ने लगायत अति आवश्यकीय निर्णय गर्न पनि तत्परता नदेखाएकोमा पार्टीभित्र व्यापक असन्तोष देखिएको छ ।

शनिबारको बैठकको सुरुमा वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलेका थिए । उनले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा पार्टी हार्नुको जिम्मा सभापतिले लिनुपर्ने धारणा राखे । पौडेलले स्थानीय तहको निर्वाचनको मतपरिणामले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा प्रभाव पार्ने बताए । बैठकमा उनले भने– ‘पार्टीमा गुटको सिर्जना नगरौं, जित्नेलाई टिकट दिनुपर्‍यो, जनताले मन पराएको मान्छेलाई टिकट दिनुपर्छ, आउने चुनावमा हामी एक भएर जानुपर्‍यो, नेतृत्वको कमीकमजोरी हुनुभएन ।’ उनले दुई नम्बर प्रदेशको निर्वाचनमा दुईतिहाई जितेर पार्टीको गिरेको साख जोगाउने अवसर अझै बाँकी रहेको तर्क गरेका थिए । बैठकमा नेता महेश आचार्यले पार्टी पराजित भएको कारण पार्टी र पार्टी सहभागि सरकारले लिएको गलत नीति भएको भन्दै अलोचना गरेका थिए । अलि भद्र नेताका रुपमा परिचय बनाएका आचार्यले पार्टीले लिएको नीतिका बारेमा नेतृत्वका बिषयमा प्रश्न उठाएका थिए । आईजीपी प्रकरण, लोकमान प्रकरण, राजदुत नियुक्ती प्रकरण र आईएनजीओले चलाएको कार्यक्रममा अन्तरवार्ता दिन सभापति गएकोबारे आपत्ति जनाएका थिए ।उनले पार्टी सभापति यी विषयमा चुकेकोले पार्टीलाई ठूलो घाटा पुगेको धारणा राखेका थिए । बैठकमा आचार्यले कांग्रेस हार्नुका कारण खोलेपछि नेताहरु तै चुप मै चुप भएका थिए । नेताहरु क्रमश: बलबाहादुर केसी, रामकृष्ण यादव, गुुरुराज घिमिरे, कमला पन्तले पनि नेतृत्वको आलोचना गरे । पौडेल निकट नेताहरुले दुई चरणका चुनावमा कांग्रेसले लिएका केही राष्ट्रिय मुद्दाका बिषयमा गम्भिर गल्ती गरेका कारणले पार्टी दोश्रो भएको बताएका थिए । उनीहरुले टिकट वितरण पारदर्शी नभएकाले पार्टी पराजित भएको भन्दै दुई नम्बर प्रदेशको टिकट वितरणका लागि पार्टीको बैधानिक निकाय संसदीय बोर्ड बनाउन माग गरेका थिए ।

यता देउवा निकट भनेर चिनिएका नेताहरू भीष्म आङ्दाम्बे, फर्मुल्ला मन्सुर, महेन्द्र यादवले सभापतिको आलोचना नगर्न आग्रह गरेका थिए । शनिवारको बेठकमा बोल्ने सभापति निकट सदस्यहरु मिन विश्वकर्मा र फरमुल्ला मन्सुरले भने माओवादीसँगको गठबन्धनको पक्षमा बोलेका थिए । उनीहरुले गठबन्धन नभएको भए कांग्रेस अझ कमजोर हुने तर्क गरेका थिए । उनीहरूले प्रधानमन्त्रीको चुनावमा कांग्रेसले माओवादीलाई र माओवादीले कांग्रेसलाई मतदान गर्न हुने तर स्थानीय स्तरमा त्यो किन नहुने भनि प्रश्न गरेका थिए ।

दुई नम्बर प्रदेशको टिकट वितरणका लागि दुई नम्बर प्रदेशका केन्द्रीय सदस्यहरुलाई जिम्मा दिनुपर्नेमा सभापति देउवा निकट केन्द्रीय सदस्यहरूको धारणा थियो । तर केन्द्रीय सदस्य प्रदीप पौडेल र धनराज गुरुङले भने पद्दतीको विकास गर्न नसकेका कारण पार्टीमा समस्या आएको बताएका थिए । उनीहरूले स्थानीय स्तरमा नै एउटा पद्दतीको निर्माण गरेर टिकट वितरण गर्नुपर्ने माग गरेका थिए । स्थानीय स्तरमा नै बरु गोप्य मतदान गरेर भएपनि उम्मेदवारको टुंगो लगाउनुपर्ने माग गरेको थिए ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्ऽ पौडेलले पार्टी र पार्टीको संलग्नतामा संचालित सकार सहि ढंगले चल्न नसक्दा हालै सम्पन्न दुई चरणको स्थानीय तह निर्वाचनमा पार्टी पराजित हुन पुगेको विश्लेषण गरेका छन् । पौडेलले पार्टी विधान अनुसार निर्वाचनमा टिकट वितरण गर्ने संसदीय बोर्ड गठन नहुँदा पनि यसको नकरात्मक असर निर्वाचनमा परेको बताएका थिए ।

वरिष्ठ नेता पौडेलले कांग्रेस भित्रको आन्तरिक किचलोको फाईदा एमालेले लिएको भन्दै अब सिनियर नेताहरुले नेपाली कांग्रेसको पक्षमा मतदान गर्न आम जनतालाई अपिल गर्दै भावि पुस्ताको समृद्धिका लागि सार्वजानिक अपिल गर्न आवश्यक रहेको बताएका थिए । एक नेताले दिएको जानकारी अनुसार, टिकट वितरणका क्रममा पनि सन्तुलित ढंगले टिकट वितरण नगरी मेरो र तेरो भन्ने भावनाले कार्यकर्तालाई काखा र पाखा गरेको कारण निर्वाचनमा अनपेक्षित हार बेहोर्नु परेको पौडेको टिप्पणी थियो । उनले पार्टीका साथीहरु सरकारमा रहेर पनि उनीहरुले आम जनताको अपेक्षा अनुसार कामकारबाही गर्न नसक्दा पनि जनतामा पार्टीप्रति निराशा पैदा भएको उनले बताए ।

पार्टी विधान अनुसार महासमितिको बैठक बोलाउने कार्य नभएको प्रति असन्तुष्टि व्यक्त गर्दै पौडेलले महाधिवेशनको मुखमा मात्रै नेताले आफ्नो खल्तिबाट यति र उति क्रियाशिल सदस्य भनि नाम थपेर संगठन बलियो नहुने भन्दै महासमितिको बैठक बोलाउन सभापतिको ध्यानाकर्षण गराएका थिए । पार्टी नेतृत्वले आफ्नो व्यक्तिगत आकांक्षा भन्दा राष्ट्रिय आवश्यकतालाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिएका थिए ।

त्यसैगरी अर्का नेता महेश आचार्यले विपीको सिद्धान्तमा अघि बढेको कांग्रेस अराष्ट्रवादी र एमाले जस्तो पार्टी राष्ट्रवादी भन्ने भ्रम जनतामा गएकोमा चिन्ता व्यक्त गरे । आचार्यले वीपी कोइरालाले स्थापना गरेको कांग्रेस पार्टीले राष्ट्रियताका बिषयमा एमालेले छर्दै आएको भ्रम चिर्न नसक्नु विडम्बना भएको स्पष्ट पारेका थिए । कांग्रेस र माओवादीको दर्शन फरक फरक भएपनि शान्ति प्रक्रियादेखि वर्तमान अवस्थामा सत्ता गठबन्धन गरेर जाादा हिाजो माओवादी द्धन्द्धबाट पीडित जनता र कांग्रेस कार्यकर्तालाई यसको आवश्यकता र महत्वबारे पार्टीले बुझाउन नसकेको भन्दै यसलाई बुझाउन पनि जनपरिचालनको आवश्यकता रहेको आचार्यले बताए ।
हालै सम्पन्न निर्वाचनको परिणामको विश्लेषण गर्दा अहिले जनता र आम मतदाता कांग्रेससाग चिढिएर टाढिएको हो कि भन्ने स्थिती देखिएको भन्दै जनताको असन्तुष्टिलाई चिर्न र उनीहरुको भावना बुझ्न जरुरी रहेको अधिकांश सदस्यहरुले बताएका थिए । पार्टी विधानले पार्टी संगठनको दैनिक गतिविधि महामन्त्री मार्फत चल्ने भन्दै आचार्यले सभापति र महामन्त्रीले पार्टी कार्यालयमा नियमित रुपमा बसेर देशभरिका कार्यकर्तासाग सम्पर्क गरी जानकारी लिएर संगठनको अवस्थाबारे समिक्षा गर्न जोड दिएका थिए ।

त्यसैगरी पछिल्लो समय दुई छिमेकी राष्ट्र चीन र भारतबीचको बढ्दो तिक्तता र चिसोपनले नेपाललाई पनि प्रभाव पार्नसक्ने उल्लेख गर्दै स्थितीलाई थप विग्रन नदिन नेपालले पनि आफ्नो कुटनैतिक भूमिका निर्वाह गर्न सभापति एवं् सरकारका प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । अर्का सदस्य बलबहादुर केसीले आफू जत्तिको नेतालाई गाउामा सुरक्षित रुपमा हिडडुल गर्ने अवस्था नभएको भन्दै सर्वसाधारण कार्यकता कसरी सुरक्षित होला भनि प्रश्न गरेका थिए । उनले कांग्रेसका कार्यकर्ता अरुबाट नभई पार्टी भित्रकै गुट, उपगुटको शिकार भएर एकअर्काको भूतले सताएको अवस्था भएको चित्रण गरेका थिए । उनले एमालेले वृद्धभत्ता बढाउने लोकप्रिय काम गरेजस्तै कांग्रेसले पनि पार्टी संगठनभित्र पार्टी भन्दा माथि कोही छैन भन्ने भावना कायम गर्न र गरिबीको रेखामुनी रहेका विपन्न परिवारलाई खाने, बस्नेको व्यवस्था मिलान आवश्यक रहको बताए ।

गुरु घिमिरेले शान्ति प्रक्रियादेखि संविधान निर्माण कार्यको समेत कांग्रेसकै नेतृत्वमा सफल भएको र अहिले कांग्रेसकै नेतृत्वमा संविधानको कार्यान्वयनका लागि दुई चरणको निर्वाचन सफलता पूर्वक सम्पन्न भएपनि यसको बारेमा जनतामाझ आफ्ना कुरा कांग्रेसले सहि ढंगले लान र बुझाउन नसक्नु कमजोरी भएको बताए । कुनैबेला एक मधेस त कहिले दुई मधेस प्रदेश भन्दै संविधान मान्दिन भन्दै सडकमा गएको असन्तुष्ट मधेसी मोर्चालाई पनि सहमतिमा ल्याएर अहिले तराई मधेसमा पार्टी नेता कार्यकर्ता जान सक्नेस्थिती बनाएको भन्दै यसको जस पार्टीले लिन नसकेकोमा चिन्ता व्यक्त गरे ।

केन्द्रीय सदस्यहरूले निर्वाचनमा जनतालाई प्रभाव पार्न माओवादी र एमालेले सांगठनिक रुपमा नै लाखौं रुपैया बाडेपनि कांग्रेसका उम्मेदवारले भने आफै व्यक्तिगत रुपमा निर्वाचन प्रचार प्रसार र खर्च व्यवस्थापन गर्नु परेकोस्थितीबारे नेताहरुको ध्यानाकर्षण गराएका थिए । पार्टी कसरी चलेको छ भन्ने कुरा थाहा छैन भन्ने वरिष्ठ नेता पौडेलको सार्वजनिक अभिव्यक्तिप्रति लक्षित गर्दै घिमिरेले नेताहरुले नै यसरी अभिव्यक्ति दिने हो भने जनतामा के प्रभाव पर्ला भनि प्रश्न गरेका थिए । निर्वाचनमा भएको पराजय र संगठनको कमिकमजोरीका अपजस पदाधिकारीको थाप्लोमा मात्रै पन्साएर नहुने भन्दै भने, ‘महाभारतमा देवब्रतले भिष्म प्रतिज्ञा लिएपछि भिष्म पितामह कहलाएका थिए । अहिले हामी सबैले पार्टी संगठन बलियो बताउन आफूले केही नलिएर पनि पार्टी र मुलुक बलियो बनाउने भिष्म प्रतिज्ञा गरौं ।’ बैठकमा चन्द्र भण्डारी, देवेन्द्रराज कँडेल लगायत २० जना सदस्यले आ आफ्नो धारणा राखेका थिए ।