काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसले मतदाता नामावली संकलनको काम स्थानीय तहबाटै गर्न निर्वाचन आयोगलाई सुझाव दिएको छ । नेपाली काँग्रेसका नेताहरुले शुक्रबार निर्वाचन आयोगका पदाधिकारीहरुसँग भेटगरी स्थानीय तहबाटै मतदाता नामावली संकलनको काम गर्न उपयुक्त हुने सुझाव दिएका हुन ।
आयोगले जिल्ला स्थित निर्वाचन कार्यालयमा पुगेर मतदाता नामावली संकलन गर्नका लागि साउन १ देखि १५ गतेसम्मको समय दिएको थियो । आम मतदातालाई सहज हुने भएकाले स्थानीय तहबाटै मतदाता नामावली संकलन गर्न आयोगलाई सुझाव दिइएको काँग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिए ।
काँग्रेसले साउन महिनाभर मतदाता नामावली संकलन गर्न पनि आग्रह गरेको छ । खेतीपातीको यो बेला १५ दिन भित्रमा मतदाता नामावली संकलनको काम नसकिने भएकाले यसको मिति पनि १५ दिन थप्न आग्रह गरिएको काँग्रेस नेता खाँडले बताए ।
निर्वाचन आयोगले भने साउन १ गतेदेखि १५ गतेसम्म मतदाता नामावली संकलन र १६ गतेदेखि २० गतेसम्म त्यसको अध्यावधिक गर्ने कार्यतालिकानै सार्वजनिक गरेको छ । मंसीर पहिलो हप्ता भित्र प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन समेत सम्पन्न गर्नुपर्ने भएकाले मतदाता नामावली संकलनको कामलाई छिटो सक्ने योजना बनाइएको निर्वाचन आयोगले स्पष्ट पारेको छ ।
प्रतिक्रिया