काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको पूर्व सचिव दिनेश भट्टराई परराष्ट्र सल्लाहकारमा नियुक्त भएका छन् । भट्टराई पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पनि परारष्ट्र सल्लाहकार थिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई देउवाको परराष्ट्र सल्लाहकारमा नियुक्त गरेको हो। लामो समय परराष्ट्र सेवामा काम गरेका भट्टराईले जेनेभामा नेपालका लागि राजदूत भएर काम गरिसकेका छन्।
मन्त्रीपरिषद बैठकले सप्तरीका बाढीपीडितलाई टहरा निर्माण र जस्तापाताका लागि तत्काल प्रतिपरिवार २५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार सप्तरीको बाढी प्रभावित क्षेत्रको अवलोकन गरी पीडितहरुलाई तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराउने घोषणालाई आज बसेको मन्त्रीपरिषद् बैठकले अनुमोदन गरेको हो ।
साथै सबै बाढी पीडितलाई सोही मापदण्डमा राहत उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ । त्यसैगरी पीडितको बसोबासको व्यवस्था गर्न १५ लाख रुपैयाँ सहुलियत ऋणको व्यवस्था गर्ने बारे प्रधानमन्त्री देउवाले गरेको प्रतिवद्धतालाई पनि बैठकले अनुमोदन गरेको छ ।
प्रतिनिधि सभाको सदस्य निर्वाचन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई व्यवस्थापिका संसद समक्ष पेश गर्ने निर्णय सरकारले गरेको छ ।
प्रतिक्रिया