काठमाडौं । दुई चरणको स्थानीय तहको निर्वाचन सकिँदा नेपाली कांग्रेस प्रभावशाली नेताहरूको गृह जिल्लामा निरीह बनेको छ । दोस्रो चरणको निर्वाचन भएको डँडेलधुरा, कञ्चनपुर, कैलाली, रूपन्देही, दाङ तथा गुल्मीका कांग्रेसको अवस्था कमजोर भएको छ भने पहिलो चरणमा निर्वाचन सम्पन्न भएका नुवाकोट, काठमाडांै, नवलपरासीजस्ता जिल्लामा पनि कमजोर भएको थियो । डँडेलधुरा सभापति शेरबहादुर देउवाको गृह जिल्ला हो भने कञ्चनपुरमा कांग्रेसका प्रभावशाली नेता एनपी साउद र रमेश लेखक छन् । त्यसैगरी रूपन्देही प्रभावशाली नेता बालकृष्ण खाँडको गृहजिल्ला हो भने दाङ अर्को प्रभावशाली नेता खुमबहादुर खड्काको गृहजिल्ला हो । गुल्मी नेता चन्द्र भण्डारीको जिल्ला हो ।
पहिलो चरणको चुनाव भएको काठमाडौं प्रकाशमान सिंह, गगन थापको गृहजिल्ला हो भने नुवाकोट अर्जुननरसिंह केसी र डा.रामशरण महतको गृह जिल्ला हो । नवलपरासी महामन्त्री डा.शशांक कोइरालाको गृहजिल्ला हो । देउवाको गृहजिल्ला डँडेलधुरा सदरमुकामको अमरगढी नगरपालिका, क्षेत्रीय सदरमुकाम रहेको दिपायल सिलगढी नगरपालिका, कांग्रेसभित्र प्रभावशाली देखिने गरेका नेता एनपी साउद र रमेश लेखकका क्षेत्र कञ्चनपुरको भीमदत्त नगर, कृष्णपुर नगरसँगै कञ्चनपुरकै बेलौरी नगरपालिकामा पराजित हुनु परेको छ । कैलालीका टीकापुर नगरपालिका, गोदावरी नगरपालिकाजस्ता राजनीतिक रूपमा समग्र प्रदेशलाई प्रभावित पार्ने क्षेत्रमा कांग्रेसले पराजय भोग्नु परेको छ ।
दाङमा कांग्रेस करिबकरिब क्लिन स्विप भएको अवस्था छ । दुईवटा नगरपालिका दुवैमा कांग्रेसले पराजय भोग्नुपरेको छ । दाङ एमाले १०, कांग्रेस ८, माओवादीले २ तहमा जित हात पारेको छ । नेपाली कांग्रेसले संविधानसभाका दाङका सबै निर्वाचन क्षेत्रमा जित हात पारेको थियो । रूपन्देहीमा कांग्रेसको पोजिसन तेस्रो भएको छ । रूपन्देहीका १६ तहमध्ये कांग्रेसले दुई तहमा मात्र जित हात पारेको छ । रूपन्देहीमा कांग्रेसभन्दा अगाडि संघीय समाजवादी फोरमले चार तहमा जित हात पारेको छ । गुल्मीमा पनि एमाले १७, कांग्रेस ६, माओवादी १ स्थानीय तहमा हात पारेको छ ।
त्यसैगरी, कञ्चनपुरमा एमाले १०, माओवादी ३, कांग्रेसले ३ तहमा जित हात पारेका छन् । कञ्चनपुर पनि नेपाली कांग्रेस पकड क्षेत्रका रूपमा लिने गरिन्थ्यो । कैलालीमा पनि कांग्रेसको पकड क्षेत्र गुमेको छ । कैलालीमा एमाले १३, माओवादी ५, कांग्रेस ५ लोकतान्त्रिक फोरमले दुई तहमा जित हात पारेको छ । तर प्रभावशाली नेताहरू नभएको जिल्लामा भने कांग्रेसको साख गुमेको छैन । कपिलवस्तुमा कांग्रेसले साख जोगाएको छ । कपिलवस्तु कांग्रेस १०, एमाले ५, माओवादी १, संघीय समाजवादी २, स्वतन्त्रले (राजपा) २ तहमा जित हात पारेको छ । त्यसैगरी पहाडी जिल्लामा अर्घाखाँचीमा पनि नेपाली कांग्रेसको साख जोगिएको छ । एमाले बाहुल्य भएको अर्घाखाँचीमा कांग्रेस ६, एमाले ३, माओवादीले ३ तहमा जित हात पारेको छ ।
भीम रावलको पकड क्षेत्रमा अछाममा पनि कांग्रेसले साख जोगाएको छ । अछाममा कांग्रेस १२, एमाले ४, माओवादीले ४ तहमा जित हात पारेको छ । प्रभावशाली र शीर्ष नेता भएको जिल्ला मोरङमा भने नेपाली कांग्रेसको साख जोगिएको छ । मोरङमा कांग्रेसकाले विराटनगरपालिका सहित बहुमत स्थानीय तहमा जित हात पारेको छ । बाजुरामा पनि कांग्रेसको साख जोगिएको छ । बाजुरा कांग्रेस ११, एमालले ७ तहमा जित हात पारेको छ । प्रदेश नम्बर १ का अधिकांश जिल्लामा भने नेपाली कांग्रेसको अवस्थामा सुधार भएको छ ।
प्रतिक्रिया