देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एउटै मन्त्रालयमा एक महिनामा दुईपटक गच्छदारको पदभार ग्रहण

देशान्तर

काठमाडौं । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले एक महिनाका बीचमा एउटै मन्त्रालयमा दुईपटक पदभार ग्रहण गरेका छन् ।

पुष्पकमल दाहालको नेतृत्वमा वैशाख २६ गते उपप्रधानमन्त्री सहित सोही मन्त्रालयमा पदभार ग्रहण गरेका गच्छदारले आज शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारमा पनि त्यही मन्त्रालयमा कार्यभार सम्हालेका हुन् ।

पाँचौँ पटक उपप्रधानमन्त्री र १४ औँ पटक मन्त्री बन्नुभएका गच्छदारले आज पदभार ग्रहण गर्दै संविधान कार्यान्वयनको पहिलो खुड्किलोमा स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको बताउँदै दोस्रो चरणको स्थानीय तह, प्रादेशिक र सङ्घीय संसद्को निर्वाचनपछि पूर्णरुपमा संविधान कार्यान्वयन हुने बताए ।

“प्रादेशिक र सङ्घीय संसद्को निर्वाचन कात्तिक १५ देखि मङ्सिर १० सम्म गरिसक्नुपर्छ, कात्तिक १५ अघि वर्षा र चाडवाडका कारण निर्वाचन सम्भव छैन भने मङ्सिर १० पछि हिमाली जिल्लामा हिउँ पर्ने भएकाले चुनाव हुन सक्दैन, माघ ७ गतेभित्र तीनवटै तहको निर्वाचन सक्नुपर्ने संवैधानिक व्यवस्था छ”–उनले भने ।

उपप्रधानमन्त्री गच्छदारले पदभार ग्रहणपछि स्थानीय तहको निर्णय प्रमाणीकरणसम्बन्धी व्यवस्थाको फाइलमा हस्ताक्षर गरे । मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि आचारसंहिता ल्याउने तयारी भइरहेको जानकारी दिए ।