देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिदा हुँदा हुँदै शान्तिमन्त्रीले भनिन्–‘शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने चाहाना अधुरै रह्यो’

देशान्तर

काठमाडौं । शान्तिमन्त्री सितादेवी यादवले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने आफ्नो चाहना अधुरै रहेको बताएकी छन् । आगामी सरकारले बाँकी काम पूरा गर्ने उनले विश्वास व्यक्त गरिन् । आफ्नो कार्यकालमा भएका कामबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले भनिन्, ‘मेरो इच्छा थियो यो शान्ति प्रक्रियाको, शान्ति मन्त्रालयको सबै काम निष्कर्षमा पुर्‍याउने तर तपाईंहरुलाई थाहै छ यो हुन सकेन ।’
मन्त्री यादवले दश वर्षे सशस्त्र द्वन्द्वका पीडितलाई न्याय दिन आफूले सक्दो प्रयास गरेको बताइन् । मन्त्रिपरिषद सदस्यहरुबाट पनि राम्रो सहयोग पाएको उनले जानकारी दिइन् । आफू मन्त्रिपरिषदको एक्ली महिला भएकाले पनि धेरै सहयोग पाएको उनको निष्कर्ष छ ।

उनले भनिन्, ‘आफै द्वन्द्व पीडितको फाइल बोकेर म क्याबिनेटमा पुगेको छु । जति फाइल यहाँबाट तयार भएर त्यहाँ पुगे स्वीकृत गराउन मन्त्रिपरिषदका सबै साथीहरुको सहयोग थियो । किनकी म अहिलेको मन्त्रिपरिषदमा एक्लै महिला पनि थिएँ ।’ उनले आगामी सरकारलाई पनि द्वन्द्वपीडितको पक्षमा काम गर्न सुझाव दिँदै भनिन्, ‘शान्ति सबैका लागि चाहियो । शान्ति मन्त्रालयको कामका लागि जे जति फाइल आएका छन् तपाईंहरु बिचलित नभएर काम गर्नुहोला ।’

मन्त्री यादवले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगको म्याद १ वर्ष थप गरेको, उहाँले द्वन्द्वकालमा ज्यान गुमाएका र वेपत्ता भएकाका परिवारलाई ५ लाख उपलब्ध गराएको, विस्थापित भएकाहरुलाई थप २५ हजार राहत उपलब्ध गराइएको र द्वन्द्वकालमा ध्वस्त भएका देशभरका सबै संरचनाहरुको निर्माण कार्य सुरु गरिएको जानकारी पनि दिइन् ।