देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसद खोल्न चार बुँदे सहमति,आज देशले नयाँ प्रधानमन्त्री पाउने

देशान्तर

काठमाडौँ, – सदन खुलाउने प्रयास स्वरुप प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा सहमति जुटेको छ ।

सभामुखको च्याम्बरमा प्रमुख दलका शीर्ष नेताहरुको सहभागितामा बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भोलिको संसद बैठक अवरोध नगर्ने बताएको हो ।

बैठकपछि एमाले नेता झलनाथ खनालले भोलिको संसद बैठक अवरोध नगर्ने सहमति भएको जानकारी दिए ।
बैठकमा प्रमुख तीन दलबीच तीन वटै तहको निर्वाचन सहमतिमै निष्पक्षताका साथ सम्पन्न गर्ने सहमति पनि भएको छ ।

एमालेले भरतपुर महानगरपालिकामा भएको मतदान विवाद समाधान गर्न माग गर्दै यस अघि संसद बैठक अवरुद्ध पार्दै आएको थियो ।

तर सत्ता पक्षले अव त्यस्तो हुन नदिने प्रतिवद्धता जनाएपछि एमाले संसद बैठक सुचारु गराउन सहमत भएको हो ।

खनालले भने, ‘विकसित परिस्थितिलाई ध्यानमा राखेर हामी सबैले पहिलो स्थानीय निर्वाचनका क्रममा जति पनि अनियमितताहरु छन्, त्यसलाई नदोहोर्याउने संकल्प गरेका छौँ । त्यस्तै १४ गतेको निर्वाचनलाई त्यही दिन शान्तिपूर्ण र निश्पक्षताका साथ नयाँ सरकारले सम्पन्न गर्ने तथा प्रदेश र राष्ट्रिय निर्वाचनलाई समयमा सम्पन्न गर्न एकताबद्ध भएर लाग्ने सहमति भएको छ । अब भोलि हाउस खुल्छ ।’

के के छन सहमतिमा

सत्तारुढ दल नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रले चार बुँदे प्रतिबद्धता जनाएपछि आज सहमतिको वातावरण बनेको हो ।

आज बिहानमात्र प्रधानमन्धी निर्वाचनका विषयमा सदनबाट हुने प्रकृयामा सहयोग गर्न आग्रह गर्न गृहमन्त्री बिमलेन्द्र निधी र काँग्रेस नेता प्रदिप गिरी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए ।

करिब डेढ घण्टा भएको छलफलमा गृहमन्त्री र नेता गिरीले सहयोगको अपेक्षा सहित ओलीसँग आफ्ना कुरा राखेको अध्यक्ष ओलीका निजी सचिव अनिस दाहालले जानकारी दिएका थिए ।

भोलि संसद अवरुद्ध नहुने भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने पक्का भएको छ ।

दलहरुबीचको सहमति अनुसार मंगलबार संसद बैठक दुई चरणमा सम्पन्न हुनेछ । पहिलो चरणमा प्रमुख दलका शिर्ष नेताहरुले सम्बोधन गर्नेछन् । त्यसपछि पुनः बस्ने बैठकले प्रधानमन्त्री चयन गर्नेछ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भोलि दुईवटा संसद बैठक बस्ने र पहिलो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने तथा दोस्रो बैठकले नयाँ प्रधानमन्त्रीका लागि मतदान गर्ने जानकारी दिए ।

श्रेष्ठले भने, ‘भोलि प्रारम्भमा प्रधानमन्त्री, प्रधानमन्त्रीका उम्मेदवारसहित तीनवटै पार्टीका शीर्ष नेता नेताहरुले सम्बोधन गरेर संविधान कार्यान्वयनको प्रक्रियालाई अघि बढाउने, निर्धा्रित समयमा निर्वाचन सम्पन्न गर्ने कुरा राख्नुहुनेछ भने दोस्रो चरणमा प्रधानमन्त्रीका लागि मतदान हुनेछ ।

आइतबार प्रधानमन्त्री निर्वाचनको कार्यतालिका रहे पनि एमालेको अवरोधका कारण संसद बैठक मंगलबार १ बजेसम्मका लागि स्थगित भएको थियो ।

यसअघि, भरतपुर प्रकरणमा अन्तरकालीन अन्तरिम आदेश गर्दै सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचय आयोगको निर्णय तीन दिनका लागी यथास्थानमा राख्न सर्वोच्च दिएको छ ।

सोमबार न्यायाधीश चोलेन्द्रशमसेर जवराको एकल ईजलाशले यस्तो आदेश गर्दै अन्तरिम आदेश अगाडि छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।

सोमबारको बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेल, गृहमन्त्री विमलेन्द्र निधि, एमाले नेता झलानाथ खनाल, सुवास नेम्वाङ, बामदेव गौतम, माओवादी नेता नारायणकाजी श्रेष्ठ लगायतको उपस्थिति थियो ।