देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देउवाको पक्षमा झन्डै दुईतिहाइ सांसद, आठ मत मात्रै कम

देशान्तर

काठमाडौं । प्रधानमन्त्रीमा उम्मेदवारी दिएका कांग्रेस सभापति शेरबहादुरको पक्षमा झन्डै दुईतिहाइ मत पुगेको छ । नौ दलले समर्थन गर्दा उनको पक्षमा ३८८ मत जुटिसकेको छ । संसद्मा अहिले ५९३ सदस्य छन् । दुईतिहाइका लागि ३९६ मत आवश्यक पर्छ । देउवाको पक्षमा दुईतिहाइ पुग्न अब आठ मत मात्रै कम छ ।

देउवालाई रापाले सर्तसहित समर्थन गरेको छ । संविधान संशोधन, मधेस आन्दोलनका मुद्दा फिर्तालगायत सर्तमा राजपाले समर्थन गरेको हो । राजपा नेता लक्ष्मणलाल कर्णले भने, ‘संविधान संशोधन गर्ने सर्तमा हामी देउवाजीलाई सहयोग गर्न तयार छौँ ।’ देउवाले सहयोगका लागि पठाएको पत्रमा संविधान संशोधन, कार्यान्वयन र बाँकी निर्वाचन गर्न समर्थन मागेका छन् । तर, राजपा सरकारमा भने सहभागी हुनेछैन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले विवादबीच देउवाको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । आइतबार बसेको कार्यसम्पादन समिति र संसदीय दलको बैठकमा बहुमत नेताहरूले दबाब दिएपछि अध्यक्ष कमल थापाले समर्थनको निर्णय लिएका हुन् । थापा उपप्रधानमन्त्री नपाउने अवस्थामा सरकारमा जान नहुने पक्षमा थिए । तर, वरिष्ठ नेता पशुपतिशमशेर राणासहित उनीपक्षीय नेताहरूले स्थानीय निर्वाचनको मुखमा मन्त्रालय लिएर भए पनि सरकारमा जानुपर्ने बताएका थिए ।

संयुक्त बैठकमा आफ्नो धारणाविपरीत नेताहरू उभिएपछि अध्यक्ष थापाले संसदीय दलबाट निर्णय लिने भन्दै बैठक स्थगित गरेका थिए । त्यसपछि नेता दिनेश श्रेष्ठको घरमा थापाले आफूपक्षीय नेताहरूसँग छलफल गरेका थिए । सो छलफलमा पनि बहुमत नेताहरूले सरकारमा जानुपर्ने सुझाब दिएपछि थापाले दिउँसो संसदीय दलको बैठकबाट देउवालाई समर्थन गर्ने निर्णय गराएको स्रोतले बतायो । तर, बैठकमा थापाले भनेका थिए, ‘मैले विवेक प्रयोग गरेर निर्णय गरेको छु, बहुमत र अल्पमतमा परेर निर्णय गरेको होइन ।’

उपाध्यक्ष दीपक बोहोराले संयुक्त बैठकमा केही नेताहरूका फरक धारणा आएको, तर विवाद नभएको बताए । ‘बैठकमा पक्ष–विपक्षमा धारणा आउनु स्वाभाविक हो । त्यसलाई विवाद भन्न मिल्दैन,’ बोहोराले भने, ‘हामीले देउवाजीको पक्षमा मतदान गर्ने निर्णय गरिसक्यौँ, अब अन्य कुरा सिद्धिए ।’

कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठक प्रारम्भ गर्दै राप्रपा अध्यक्ष कमल थापाले मुलुकमा संकट कांग्रेसकै कारण आएको आरोप लगाएका थिए । बैठकमा थापाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यो देशमा संकट आएकै कांग्रेसका कारण हो, तसर्थ मुलुकमा संकट ल्याउने पार्टीको सभापतिको नेतृत्वको सरकारमा सहभागी हुनुहुँदैन ।’ उनले उपप्रधानमन्त्री नपाएमा कुनै हालतमा सरकारमा जान नहुने पनि बताएका थिए ।

संयुक्त बैठकमा अधिकांश पदाधिकारी अध्यक्ष थापाको धारणाविपरीत थिए । उपाध्यक्षत्रय दीपक बोहोरा, बुद्धिमान तामाङ र विक्रम पाण्डे, महामन्त्रीहरू सुनील थापा, जयन्त चन्दलगायत पार्टी एकीकरणअघिका राप्रपा नेताहरूले उपप्रधानमन्त्री नपाए पनि सरकारमा जानुपर्ने धारणा राखेका थिए । तर, थापाले निर्णय गर्न अलमल गरेपछि नेता पशुपतिशमशेर राणाले बहुमतको निर्णय नमाने पार्टीभित्र ‘डिजास्टर’ हुने चेतावनी दिएका थिए ।

देउवाले सरकारमा सहभागी हुन राप्रपालाई शनिबार पठाएको पत्रमा चार मन्त्रालय दिने, तर उपप्रधानमन्त्री दिन नसक्ने उल्लेख रहेको नेताहरूले बताएका छन् । पत्र पठाएलगत्तै देउवाले राप्रपा अध्यक्ष कमल थापा र नेता पशुपतिशमशेर राणालाई छलफलका लागि बोलाएका थिए । तर, थापाले भेटेनन् । राणासँगको भेटमा देउवाले राप्रपाले चलाएका पुरानै चार मन्त्रालय दिने प्रस्ताव राखेको कांग्रेसका एक नेताले जानकारी दिए । अघिल्लो सरकारमा राप्रपाले स्थानीय विकास, आपूर्ति, भूमिसुधार र पर्यटन मन्त्रालय पाएको थियो । देउवाले पहिलो चरणमा मन्त्री बनाउन एकजनाको नाम दिन पनि राणालाई आग्रह गरेको स्रोतले बतायो ।

राप्रपा संसदीय दलको बैठकले मन्त्री सिफारिस गर्न पार्टी महामन्त्री जयन्त चन्दको संयोजकत्वमा तीनसदस्यीय समिति बनाएको छ । प्रमुख सचेतक कुन्ती शाहीका अनुसार समितिमा उनी र दिलनाथ गिरी सदस्य छन् । स्रोतका अनुसार अध्यक्ष थापालाई प्रत्यक्षतर्फ निर्वाचितलाई मात्र मन्त्रीमा पठाउन नेताहरूले दबाब दिएका छन् । राप्रपामा विक्रम पाण्डे, दीपक बोहोरा र सुनील थापा मात्रै प्रत्यक्षबाट निर्वाचित सांसद हुन् ।

साना आठ दल खुल्न बाँकी
प्रधानमन्त्रीको निर्वाचनमा देउवाको पक्षमा वा विपक्षमा मतदान गर्ने भन्ने विषयमा साना आठ दल अझै खुलेका छैनन् । दुई सिट रहेको नेपाल परिवार दल र एक–एक सिट रहेका राष्ट्रिय जनमुक्ति (सीमाकुमारी विक), नेपाली जनता दल, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, जनजागरण पार्टी नेपाल, थरुहट तराई पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र स्वतन्त्र सांसद चन्दे्रश्वर झा खुलेका छैनन् ।

परिवार दल पनि सकारात्मक
दुई सांसद रहेको परिवार दलले देउवालाई सहयोग गर्न सकारात्मक देखिएको छ । अध्यक्ष एकनाथ ढकालले सहयोगका लागि देउवाले पत्र पठाएपछि आफ्नो पार्टी सकारात्मक रहेको बताए । सोमबार केन्द्रीय समितिको बैठक बसेर निर्णय गरिने ढकालले बताएको आजको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ ।