देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेमा जताततै विद्रोह

देशान्तर

काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा ठूलो पार्टी बनेको कोकोहोलो गर्दै आएको एमालेभित्र दोश्रो चरणको निर्वाचनमा भने उम्मेदवारीका कारण जताततै विद्रोह हुने संकेत देखापरेको छ । दोश्रो चरणको निर्वाचन हुने अधिकांश जिल्लामा धमाधम एमालेका विद्रोहीहरुले उम्मेदवारी घोषणा गरेका छन् । एमाले अध्यक्ष केपी ओली, नेता भरतमोहन अधिकारी तथा उपमहासचिव विष्णु पौडेलको गृहजिल्लामा विद्रोह सुरु भएको छ ।

झापाको प्रमुख सहरमध्येको एक दमक नगरमा अध्यक्ष ओलीले जबरजस्ती भतिजा रोमनाथलाई उम्मेदवार बनाएपछि उनकै गृहजिल्लाबाट विद्रोह प्रारम्भ भयो । नगर कमिटिले नाम नै सिफारिस नगरेका रोमनाथलाई अध्यक्ष ओलीको दबाबमा उम्मेदवार बनाइएको हो । दमकमा एमालेका आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार बनाउने तयारीमा नेता कार्यकर्ताहरू जुटेका छन् । दलको एक पंक्तिले उच्च नेतृत्वले नातावादलाई प्रश्रय दिँदै आफन्तलाई टिकट दिएको भन्दै तीव्र असन्तुष्टि जनाएको छ ।

त्यसैगरी पार्टीका दुई उपमहासचिवहरु विष्णु पौडेल र घनश्याम भुसालबीचको द्वन्द्वका कारण रूपन्देहीमा एमाले नेता कार्यकर्ताबीच चर्को गुटबन्दी देखापरेको छ । यही गुटबन्दीका कारण रूपन्देहीको तिलोत्तमा र देबदह नगरमा एमालेका तर्फबाट तय भएका प्रमुखका उम्मेदवारको ठाउँमा नयाँ उम्मेदवार तय गरेपछि रूपन्देही एमालेमा खैलाबैला मच्चिएको छ । तिलोत्तमा नगरमा यसअघि दलका जिल्ला सदस्य मोहन चापागाईं र देबदह नगरमा नीलकण्ठ पौडेललाई एमालेले प्रमुखको उम्मेदवारका रूपमा अघि सारेको थियो । तर पछि निर्णय फेरेर तिलोत्तमामा बासुदेव घिमिरे र देबदहमा टीकाराम चापागाईलाई प्रमुखको उमेदवार बनाइएको छ ।

दलले पूर्व निर्णय कार्यान्वयन नगरेको भन्दै तिलोत्तमामा एमालेका एक कार्यकर्ताले पार्टीको निर्णयविरुद्ध प्रमुखमा बागी उमेदवार दिएका छन् । पार्टीको पछिल्लो निर्णयले पद्धति र प्रक्रियामा विश्वास गर्ने कार्यकर्तालाई स्तब्ध बनाएको भन्दै एमाले आबद्ध टंकप्रसाद पाण्डेले तिलोत्तमा नगरको प्रमुखको लागि उम्मेदवारी घोषणा गरेर भोट माग्न थालेका छन् ।

तिलोत्तमा नगरमा यसअघि प्रमुखको उमेद्वारको रूपमा अघि सारिएका मोहन चापागाई विष्णु पौडेल निकट हुन् । उनको ठाउँमा अघि सारिएका बासुदेव घिमिरे घनश्याम भुसालपक्षका नेता हुन् । तिलोत्तमा नगर रहेको रूपन्देही–३ घनश्याम भुसालको क्षेत्र पर्दछ ।
भरतमोहन अधिकारको गृहजिल्ला मोरङमा पनि एमालेभित्र मारामार भएको छ । मोरङका सवै स्थानीय तहका वडासम्म पनि विद्रोह सुरु भएको छ । मोरङको पथरी–शनिश्चरे नगरमा उम्मेदवार चयनप्रति तीव्र असन्तुष्टि जनाउँदै एमालेका कार्यकताले बागी उम्मेदवारी घोषणा गरेका छन् । त्यहाा प्रमुख पदका लागि एमाले कार्यकर्ता राधा संग्रौलाले पत्रकार सम्मेलन नै गरेर बागी उम्मेदवारी घोषणा गरेकी छन् ।
पथरी–शनिश्चरेमा पार्टीले दिलिपकुमार राईलाई प्रमुखको उम्मेदवार बनाएको छ ।

पार्टीपंक्तिले एकलौटी रूपमा राईलाई उम्मेदवार बनाएको भन्दै अन्य असन्तुष्टले आफूहरूका घर–आँगनमा गाडेका झण्डासमेत एमाले सांसद् चण्डीप्रसाद राईको घरमा लगेर छाडिदिएका छन् । सो नगरको १ नम्बर वडामा पनि पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै एमाले कार्याकर्ता धनकुमार तामाङले पनि बागी उम्मेदवारी दिने तयारी गरेका छन् । त्यहाँ पार्टीले बाबुराम सुब्बालाई अध्यक्षको टिकट दिने तयारी गरेको छ । सुब्बाले टिकट पाउने भएपछि उद्योग वाणिज्य संघ पथरीका अध्यक्षसमेत रहेका तामाङले बागी उम्मेदवारी दिन लागेको बुझिएको छ । पथरी–शनिश्चरे नगरको २ नम्बर वडामा पनि एमाले कार्यकर्ताले बागी उम्मेदवारी दिने भएका छन् । त्यहाँ रत्नबहादुर बस्नेतले पार्टीप्रति असन्तुष्टि जनाउँदै बागी उम्मेदवारी दिन लागेका हुन् । २ नम्बरमा पार्टीले वडा प्रमुखमा यामप्रसाद गुरागाईंलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

पथरी–शनिश्चरकै वडा नम्बर ७ मा पनि एमालेमा बागी उम्मेदवारी परेको छ । त्यहाा रत्नबादुर कार्कीले बागी उम्मेदवारी घोषणा गरेका छन् । पार्टीका जिम्मेवार नेताले आफूखुसी टिकट बाँडेपछि आफूले बागी उम्मेदवारी दिन बाध्य भएको उनको भनाइ छ ।