देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसद्धारा सरकारका बिषयमा छलफल गर्न सर्वदलिय बैठक आह्वान

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सहमतीय सरकार गठनका विषयमा छलफल गर्न मंगलबार बिहान सर्वदलीय बैठक बोलाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएसँगै सरकार गठनको आन्तरिक गृहकार्य थालेको कांग्रेसले आफ्नो नेतृत्वमा सहमतीय सरकार गठनको प्रयास स्वरुप संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई छलफलका लागि बोलाएको हो।

कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुलाई मंगलबार विहान साढे ८ बजे संसद भवनमा हुने सर्वदलीय बैठकमा उपस्थित हुन पत्र पठाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको एक साताको समय सकिन दुई दिनमात्रै बाँकी रहँदा कांग्रेस सभापति देउवाले आफ्नै नेतृत्वमा सहमतीय सरकार गठनबारे छलफलका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बोलाएका हुन्।

राष्ट्रपति भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको समयसीमा बुधवार सकिँदैछ। तर, सहमतीय सरकार गठनका विषयमा भने प्रमुख राजनीतिक दलहरुबीच औपचारिक अनौपचारिकरुपमा कुनै छलफल भएको छैन। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन हुँदा कांग्रेससँग भएको भद्र सहमति अनुसार देउवा आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको पहल सुरु गर्न लागेका हुन्। देउवाले सर्वदलीय बैठकमा सवै दललाई आफू नेतृत्वमा बन्ने सरकारमा सहभागी हुन आग्रह गर्ने कांग्रेस नेता एनपी साउदले बताए। जेठ १७ गतेसम्म सहमतीय सरकार गठनका विषयमा दलहरुबीच सहमति नजुटे राष्ट्रपतिले बहुमतीय सरकार गठनका लागि फेरि आह्वान गर्नेछिन्।