देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मध्यरातमा मतपत्र च्यातिएपछि भरतपुर महानगरको मतगणना स्थगित

देशान्तर

चितवन । स्थानीय तहको निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिकाको मत गणना भइरहेको समयमा मध्यरातमा मतपत्र च्यातिएपछि अनिश्चितकालका लागि मतगणना स्थगित गरिएको छ । मतगणना भइरहेको समयमा राति ११ः४४ बजे दलका प्रतिनिधिले मतपत्र च्यातेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना टाँस गरी अर्को सूचना जारी नभएसम्मका लागि मतगणना स्थगित गरिएको जनाएको हो । सो क्रममा मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले आफू शौचालय गएर फर्कदै गर्दा मतपत्र च्यातिएको र त्यसपछि विवाद बढेको भन्दै अनिश्चितकालका लागि गणना स्थगित गरिएको जानकारी गराएका थिए । के कति मतपत्र च्यातियो सोबारे भने उनले यकिन हुन नसकेको बताए ।

च्यातिएका मतपत्रलाई मुचुल्का गरेर राखिएको छ । नेकपा एमालेका प्रमुखका उम्मेदवार देवी ज्ञवालीले हार्ने भएपछि माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेको बताए । माओवादी केन्द्रले भने एमालेलाई दोष लगाएको छ । मतपत्र च्यातेको र प्रहरी माथि हातपात गरेको भन्दै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पक्राउ पर्नेमा माओवादीका द्रोणबाबु सिवाकोटी र ईश्वर सापकोटा एवम् एमालेका गङ्गालाल लामा रहेका छन् । मतगणना स्थलमा उनीहरुले गनिसकेको मतपत्र सङ्ख्या जोड्दै गर्दा च्यातेपछि मतगणना स्थलमा निकै होहल्ला भएको थियो । प्रहरी उपरीक्षक थापाका अनुसार मतगणना स्थगित भएपछि मतपत्र गणना भइरहेको स्थल कवर्ड हलबाट दलका प्रतिनिधिलाई बाहिर निकालेर दुईवटा ढोकामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले ताला लगाएको छ ।

सोही माथि एमालेले पनि ताला लगाएको उनले बताए । अन्य दलले पनि ताला लाउन सक्ने थापाले बताए । मतपत्र च्यातियो भनेपछि बाहिर रहेका दलका कार्यकर्ता नाराबाजी गर्दै मतगणना स्थलतर्फ गएपछि प्रहरीले लाँठीचार्ज गरेको थियो । सो क्रममा भरतपुर महानगरपालिका–१९ को मतगणना भइरहेको थियो । वडा नम्बर २० को मतगणना हुन बाँकी रहेको छ । हालसम्म माओवादी केन्द्रकी प्रमुख पदकी उम्मेदवार रेणु दाहालभन्दा नेकपा एमालेका प्रमुख पदका ज्ञवाली ७५५ मत अन्तरले अघि रहेका छन् ।